
लामो समयदेखि द्वन्द्वमा रहेका अमेरिका र इरान ६० दिनको अस्थायी युद्धविराम सम्झौता नजिक पुगेका छन् । यद्यपि, यो सम्झौता पूर्ण रूपमा लागू हुन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अन्तिम स्वीकृति मात्र बाँकी रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
एक्सियोसको रिपोर्ट अनुसार दुवै देशले ६० दिनको समझदारी पत्रको ढाँचामा सहमति जनाएका छन्, जसको मुख्य उद्देश्य हालको युद्धविरामलाई विस्तार गर्नु र इरानको आणविक कार्यक्रममा औपचारिक वार्ता शुरू गर्नु हो ।
तर, यो सम्भावित सम्झौता अझै पनि तरल अवस्थामा छ । राष्ट्रपति ट्रम्पले सम्झौतामाथि अन्तिम निर्णय लिन केही दिनको समय मागेका छन् भने इरानी पक्षबाट पनि यसको आधिकारिक पुष्टि हुन बाँकी छ ।
अमेरिकी उपराष्ट्रपति जेडी भान्सले वार्ता सकारात्मक दिशामा अघि बढे पनि अझै धेरै प्राविधिक र जटिल कठिनाइहरू समाधान गर्न बाँकी रहेको स्पष्ट पारेका छन्। वार्ताको प्रगति र राष्ट्रपति ट्रम्पको हस्ताक्षरबारे सोधिएको प्रश्नमा उपराष्ट्रपति भान्सले वासिङ्टन डीसी र संयुक्त बेस एन्ड्रयूजको टार्माकमा पत्रकारहरूसँग कुरा गर्दै तत्कालै सम्झौता भइहाल्ने ग्यारेन्टी गर्न नसकिने बताए।
ट्रम्पले इरानसँगको अस्थायी समझदारी पत्रमा हस्ताक्षर गर्ने कि नगर्ने भन्ने कुरा अझै टु बी डिसाइडेड (टुङ्गो लाग्न बाँकी) रहेको उनको भनाइ छ। 'मलाई लाग्छ कि राष्ट्रपतिले कहिले हस्ताक्षर गर्ने छन् भनेर ठ्याक्कै भन्न गाह्रो छ। हामी केही भाषा बुँदाहरूमा अगाडि बढिरहेका छौं। आणविक सामग्री, अत्यधिक समृद्ध भण्डार, र समृद्धिको प्रश्नमा केही मुद्दाहरू छन्। त्यसैले हामी उनीहरूसँग अगाडि बढिरहेका छौं । हामीलाई लाग्छ कि उनीहरू कम्तिमा अहिलेसम्म राम्रो विश्वासका साथ वार्ता गरिरहेका छन्। हामी अझै त्यहाँ पुगेका छैनौं, तर हामी धेरै नजिक छौं र हामी यसमा काम गरिरहनेछौं।'
हालैका केही सैन्य आक्रमणका आदानप्रदानका बाबजुद युद्धविराम कायमै रहेको र अमेरिकाले आफ्नो रक्षात्मक आक्रमण गर्ने अधिकार सुरक्षित राखेको भान्सले बताए ।
प्रस्तावित ६० दिने सम्झौता मुख्य रूपमा इरानको अत्यधिक समृद्ध युरेनियम र युरेनियम संवर्धनसम्बन्धी प्राविधिक मुद्दाहरूमा केन्द्रित हुनेछ । अमेरिकाले लामो समयदेखि इरानलाई आणविक हतियार बनाउन प्रयोग हुन सक्ने अत्यधिक समृद्ध युरेनियम उत्पादन बन्द गर्न र यसको अवस्थित भण्डार नष्ट गर्न माग गर्दै आएको छ । राष्ट्रपति ट्रम्पले यसअघि नै यो युरेनियम भण्डार अमेरिकाले लिन सक्ने, वा इरानसँगै मिलेर त्यहीँ वा तेस्रो स्थानमा पातलो पार्न सकिने सुझाव दिइसकेका छन् ।
हर्मुजबाट व्यावसायिक र गैर-सैन्य ढुवानी निर्बाध रूपमा जारी रहनेछ । इरानले ३० दिन भित्र ढुवानी मार्गबाट समुद्री खानीहरू हटाउनु पर्नेछ र त्यहाँबाट आवतजावत गर्ने जहाजहरूलाई कुनै शुल्क वा कर लगाइने छैन । यसको बदलामा अमेरिकाले आफ्नो नौसेना नाकाबन्दीलाई बिस्तारै हटाउनेछ । साथै इरानलाई तेल बेच्न पुनः शुरू गर्न अनुमति दिन केही प्रतिबन्धहरूमा छूट दिने र प्रतिबन्ध कम गर्ने बारेमा छलफल गरिनेछ।
सम्झौतामा इरानले आणविक हतियार विकास नगर्ने प्रतिवद्धता स्पष्ट रूपमा समावेश गर्नुपर्नेछ।
यसअघि इरानी राज्य मिडियाले दुई देशबीच १४ बुँदे समझदारी पत्रको अनौपचारिक मस्यौदा तयार भएको दाबी गरेको थियो। उक्त प्रतिवेदनमा इरानी बन्दरगाहहरूबाट वासिङ्टनको नौसेना नाकाबन्दी हटाउने, इरानको वरपरको क्षेत्रबाट अमेरिकी सेना पूर्ण रूपमा फिर्ता गर्ने र ओमानसँग मिलेर होर्मुजमा जहाजहरूको मार्ग नियन्त्रण गर्ने कुरा उल्लेख थियो। तर, ह्वाइट हाउसले उक्त कथित मस्यौदालाई पूर्ण बनावटी भन्दै खण्डन गरिसकेको छ।
इरानको अर्धसरकारी तस्निम समाचार एजेन्सीले पनि सम्झौतालाई अझै अन्तिम रूप नदिएको वा पुष्टि नभएको जनाएको छ। ट्रम्प र अन्य अमेरिकी अधिकारीहरूले सम्झौता नभएमा विकल्प बी अर्थात् पुनः युद्ध अभियानमा फर्किने विकल्प अझै पनि टेबलमै रहेको चेतावनी दिएका छन् ।
वार्ता चलिरहेकै समयमा मैदानमा भने अझै पनि तनाव देखिन्छ। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सको नौसेनाले होर्मुज नजिकै चारवटा जहाजहरूमा चेतावनीपूर्ण प्रहार गरेको बताएको छ ।
८ अप्रिलमा प्रारम्भिक युद्धविराम लागू भएदेखि नै ट्रम्पले बारम्बार दुई पक्ष सम्झौताको नजिक रहेको दाबी गर्दै आएका छन् ।