
विश्व फुटबलको महाकुम्भमा आधा शताब्दीभन्दा लामो प्रतीक्षा र ५२ वर्षको अन्तरालपछि पुन: विश्व मञ्चमा प्रजातान्त्रिक गणतन्त्र कंगोको पुनरागमन आफैँमा एउटा ‘परीकथा’जस्तै हो ।
सन् १९७४ मा पश्चिम जर्मनीमा आयोजितको संस्करणमार्फत् पहिलो पटक विश्वमञ्चमा पाइला टेकेको यो टोलीका लागि त्यसपछिका दशकहरू निकै कष्टकर रहे ।
सन् २०२६ को मार्च ३१ तारिखमा मेक्सिकोको ग्वाडालाहारामा जमैकाविरुद्धको त्यो १–० गोलको ऐतिहासिक जितले कंगो फुटबलको ५२ वर्षे ‘वनवास’मा पूर्णविराम लगाइदिएको हो ।
‘जायर’देखि ‘कंगोसम्म : उतार–चढावपूर्ण यात्रा
कंगोको फुटबल इतिहास निकै रोचक र संघर्षपूर्ण छ । सन् १९७१ देखि सन् १९९७ सम्म ‘जायर’को नामले परिचित यो टोलीले सन् १९७४ मा अफ्रिकाको पहिलो सब–सहारा राष्ट्रका रूपमा विश्वकप खेल्ने इतिहास रचेको थियो ।
यद्यपि, त्यो यात्रा कंगोका लागि निकै महँगो साबित भयो । युगान्डासँगको ९–० गोलको लज्जास्पद हार, खेलाडीहरूको तलब र भत्ताको विवाद अनि, तत्कालीन राजनीतिक हस्तक्षेपले टोलीको मनोबल चुर्लुम्मै डुबायो ।

त्यसयता, टोलीले आफ्नो नाम फेर्यो, पटक–पटक प्रशिक्षकहरू पनि फेरिए, तर लामो समयसम्म विश्वकपको ‘मेन ड्र’सम्म पुग्ने सपना सधैँ अधुरै रह्यो ।
सेबास्टियन डेसाब्रे : जसले टोलीमा नयाँ रगत सञ्चार गरे
सन् २०२२ को अगस्तमा फ्रान्सेली रणनीतिकार सेबास्टियन डेसाब्रेले टोली सम्हाल्दा कंगोको फुटबल इतिहासकै गम्भीर मोडमा उभिएको थियो । तर, प्रमुख प्रशिक्षक डेसाब्रेले रणनीतिमात्र बदलेनन्, उनले टोलीको संरचनामै आमूल परिवर्तन गरे ।
उनको सबैभन्दा ठूलो सफलता ‘दोहोरो राष्ट्रियता’ भएका खेलाडीहरूको खोजी थियो । आरोन वान–बिसाका, एक्सेल तुआनजेबे र नोआ साडिकीजस्ता युरोपेली लिगहरूमा जमेका खेलाडीलाई आफ्नो मातृभूमिको जर्सी लगाउन फकाउनु प्रशिक्षक डेसाब्रेको ठूलो जित थियो ।

उनले टोलीमा अनुभवी कप्तान चान्सल एमबेम्बा (जसको नाममा कीर्तिमानी १०७ क्याप्स छ) र युवा प्रतिभाहरूको एउटा यस्तो समिश्रण बनाए, जसले अनुशासन र जुझारुपनलाई आफ्नो विशिष्ठ परिचय बनायो ।
स्काई स्पोर्टसको एक प्रतिवेदनअनुसार, केही महिना तलब नपाउँदा र न्यून भौतिक पूर्वाधारमा अभ्यास गर्दा पनि टोलीले कहिल्यै हार मानेन । यो डेसाब्रेको नेतृत्व र खेलाडीहरूको अटुट प्रतिबद्धताकै परिणाम थियो ।
कठिन छनोट चरण र नाटकीय जितको श्रृंखला
विश्वकप–२०२६ सम्मको कंगोको यात्रा कुनै चलचित्रको पटकथाभन्दा कम छैन । अफ्रिकी छनोटको समूह ‘बी’ मा सेनेगलसँगको कडा प्रतिस्पर्धामा दोस्रो भए पनि, कंगोले प्ले–अफका लागि आफ्नो स्थान सुरक्षित गर्यो ।

क्यामरुनसँगको सेमिफाइनल खेलको अन्तिम क्षणमा कप्तान चान्सल एमबेम्बाको गोलले टोलीलाई फाइनलमा पुर्यायो । नाइजेरियासँगको फाइनल खेल बराबरीमा सकिएपछि प्रशिक्षक डेसाब्रेले गरेको ‘गोलरक्षक परिवर्तन’को रणनीति कमालको थियो ।
उनले फाइनलको पेनाल्टी सुटआउटमा गोलरक्षक लियोनल म्पासीको स्थानमा टिमोथी फायुलुलाई पोष्टको जिम्मेवारी सुम्पिएका थिए । प्रशिक्षक डेसाब्रेको त्यही कमालको रणनीतिले पेनाल्टी सुटआउटमा टोलीलाई ४–३ गोलको ऐतिहासिक जित दिलायो ।
मेक्सिकोमा भएको इन्टर–कन्टिनेन्टल प्ले–अफमा एक्सेल तुआनजेबेको अतिरिक्त समयको त्यो निर्णायक गोलले अन्तत: ५२ वर्षको पर्खाइलाई सफलतामा रुपान्तरित गरेरै छाड्यो ।
समूह ‘के’ र पोर्चुगल–कोलम्बियासँगको भिडन्त
आगामी विश्वकपमा कंगो समूह ‘के’ मा परेको छ । स्टार खेलाडीले भरिएको पोर्चुगल, कोलम्बिया र उज्बेकिस्तान पनि यही समूहमा छन् ।
कंगोले आफ्नो पहिलो खेल जुन १७ तारिखमा बलियो पोर्चुगलसँग खेल्नेछ । त्यसपछि कंगोले दोस्रो खेल जुन २३ मा कोलम्बियासँग र तेस्रो खेल जुन २७ तारिखमा उज्बेकिस्तानसँग खेल्नेछ ।
सन् १९७४ को विश्वकपमा गोलविहीन रहेर बिदा भएको कंगोको टोली यसपटक भने इतिहास सच्याउने लक्ष्यमा देखिन्छ ।
टोलीको बलियो पक्ष
यसपटक कंगोको टोलीमा अनुभवी र युवा जोशको गजबको तालमेल देखिन्छ । टोलीमा एमबेम्बा, बाकम्बु र विसाकोजस्ता अनुभवी खेलाडी छन् ।

वान–बिसाका र तुआनजेबेको उपस्थितिले टोलीको रक्षापँक्तिलाई पनि विगतको तुलनामा धेरै बलियो बनाएको छ । प्रशिक्षकको रणनीतिक खुबी र दबाबमा पनि स्थिर निर्णय लिने क्षमता पनि गजबको छ ।
कंगो फुटबलको भविष्य
किन्सासास्थित ८० हजार दर्शक क्षमताको ‘स्टेड डेस मार्टियर्स’ रंगशालामा पनि अब विश्वकपको उत्साह देख्न पाइनेछ । सन् १९६८ र सन् १९७४ को ‘अफ्रिकन कप अफ नेसन्स’ विजेता कंगोले दुईपटक ‘अफ्रिकन नेसन्स च्याम्पियनसिप’ जितेर आफ्नो स्तरको पुष्टि गरिसकेको छ ।

विश्वकप–२०२६ कंगोका लागि एउटा प्रतियोगितामात्र होइन, यो एउटा यस्तो युगको सुरुवात पनि हो जहाँ उनीहरूले अफ्रिकी फुटबलको शक्तिको रूपमा आफूलाई पुन:स्थापित गर्न खोजिरहेका छन् ।
५२ वर्षको अन्धकार छिचोलेर उज्यालोमा आएको यो अफ्रिकी ‘लेपार्ड्स’टोलीले अब मैदानमा कस्तो गर्जन देखाउँछ ? त्यसैले कंगो फुटबलको भविष्यको रेखा कोर्नेछ ।
इबोलाको त्रास र तयारीमा तगारो
पाँच दशकभन्दा लामो प्रतीक्षापछि फुटबल महाकुम्भमा फर्किएको कंगोको टोलीका लागि विश्वकपको तयारी मैदानभन्दा बाहिरको एउटा ठूलो स्वास्थ्य चुनौतीसँग जुध्नमा केन्द्रित छ ।
देशमा फैलिएको ‘इबोला’ भाइरसको प्रकोपका कारण टोलीको ऐतिहासिक पुनरागमनको यात्रामा एकाएक ‘हेल्थ बबल’को संकट थपिएको छ ।
विश्वकपका लागि प्रस्थान गर्नुअघि राजधानीमा टोलीले भव्य बिदाइ समारोहसँगै राष्ट्रपतिसँग भेट गर्ने योजना थियो । तर, इबोलाको बढ्दो त्रासका कारण कंगो फुटबल फेडेरेसनले उक्त कार्यक्रम पूर्ण रूपमा रद्द गर्नुपर्यो ।
अब टोलीको सम्पूर्ण तयारी युरोप र अमेरिकामा मात्र सीमित रहनेछ । टोलीका प्रवक्ता जेरी कालेमोका अनुसार, तीन चरणको तयारीमध्ये पहिलो चरण रद्द भएको छ । कंगोको टोली अब बेल्जियमको प्रशिक्षण क्याम्पमा केही समय बिताएपछि मैत्रीपूर्ण खेल खेल्न स्पेन प्रस्थान गर्नेछ ।

ह्वाइट हाउसको कडा चेतावनी
विश्वकपको आयोजक अमेरिका आफ्नो सुरक्षा र स्वास्थ्य मापदण्डलाई लिएर निकै कडा रूपमा प्रस्तुत भएको छ । अमेरिकाले कंगोको टोलीप्रति पनि यस्तै नीति अपनाएको छ ।
ह्वाइट हाउसको विश्वकप कार्यदलका कार्यकारी निर्देशक एन्ड्रयू गिउलियानीले स्पष्ट शब्दमा चेतावनी दिएका छन्, ‘कंगोले अमेरिका प्रवेश गर्नुअघि अनिवार्य रूपमा २१ दिनको कडा ‘हेल्थ बबल’ (स्वास्थ्य सुरक्षा मापदण्ड) पालना गर्नैपर्छ ।’
यदि यो नियम तोडियो भने उनीहरूलाई अमेरिका प्रवेशमा रोक लाग्न सक्छ । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रले कंगो, युगान्डा र दक्षिण सुडानबाट आउने खेलाडीमाथि ३० दिने प्रतिबन्ध लगाएको छ ।
टोलीका अधिकांश खेलाडी युरोपमा बस्ने भएकाले उनीहरूलाई केही छुट दिइए पनि, टोलीका केही सदस्य भर्खरै कंगोको भूभागबाट यात्रा गरेर आएका कारण उनीहरूमाथि उच्च निगरानी राखिएको छ ।
यस्तो स्वास्थ्य संकटबीच कंगोका प्रशिक्षक सेबास्टियन डेसाब्रेमाथि आफ्नो टोलीको मानसिक र खेलगत सन्तुलन कायम राख्नुपर्ने चुनौती छ । टोलीले जुन ३ तारिखमा डेनमार्कसँग र जुन ९ तारिखमा चिलीसँग मैत्रीपूर्ण खेल खेल्नेछ । त्यसपछि जुन ११ तारिखमा उनीहरू ह्युस्टन (अमेरिका) पुग्ने कार्यक्रम छ ।
विश्वकप फुटबलबारे यसअघिका शृखला
- विवाद र रोमाञ्चकताले भरिएको १९८२ को विश्वकप- 'गिजोनको लज्जा'देखि इटालीको ऐतिहासिक उपाधिसम्म
- ११औं फिफा विश्वकप- १९७८: ‘कन्फेटी’को वर्षाले सेताम्मे रंगशाला र अर्जेन्टिनाको पहिलो उपाधि
- १० औं फिफा विश्वकप-१९७४ : जब ‘टोटल फुटबल’को जादूमाथि हाबी भयो ‘जर्मन दृढता’
- उज्बेकिस्तानको फुटबल पुनर्जागरण : विमान दुर्घटनाको शोकदेखि विश्वकपसम्म ‘सेता ब्वाँसाहरू’को उडान
- नवौं फिफा विश्वकप– १९७० : त्यो ‘स्वर्णिम युग’ जसले फूटबल ‘कला’ र ब्राजिललाई ‘अमर’ बनायो
- ‘ब्लू सार्क’को एतिहासिक यात्रा : पाँच लाख जनसंख्या भएको टापुले कसरी पूरा गर्यो असम्भव सपना ?
- आठौं विश्वकप- १९६६: फूटबलको ‘जन्मभूमि’मा जब इतिहास रचियो
- सातौं फिफा विश्वकप–१९६२ : भूकम्प, ‘सान्टियागोको युद्ध’ र ब्राजिलको ऐतिहासिक उपाधि रक्षा
- छैटौं फिफा विश्वकप– १९५८: फूटबलको स्वर्णिम अध्याय, सर्वकालीन महान खेलाडी पेलेको उदय
- पाँचौं फिफा विश्वकप–१९५४: ‘ब्याटल अफ बर्न’, हंगेरीको ‘स्वर्ण युग’ र जर्मनीको उदयबीचको टकराव
- द्वितीय विश्वयुद्धपछि पहिलोपटक फर्किएको संस्करण, जसले फुटबलको स्वरूप नै बदल्यो
- विश्वयुद्धअघिको 'वर्ल्ड कप'– घरमै फ्रान्सको नमीठो अनुभव र इटालीका खेलाडीको ज्यानको प्रसंग
- दोस्रो फिफा विश्वकप– १९३४ : एउटै खेल दुई दिनसम्म, खेलाडीका अचम्मका उपनाम
- पहिलो फिफा विश्वकपको रोचक इतिहास– युरोपेली देशसँगको हारगुहारदेखि समुद्रमा फसेका खेलाडीसम्म