२३ जेठ २०८३, शनिबार

छैटौँ पटक विश्वकपको मैदानमा फुटबलका जादुगर मेसी

जेठ १५, २०८३
काठमाडौं
छैटौँ पटक विश्वकपको मैदानमा फुटबलका जादुगर मेसी

विश्व फुटबलको मैदानमा एउटा नाम, जसले दुई दशकभन्दा बढी समयदेखि आफ्नो जादु चलाइरहेको छ, लियोनल मेसी । ३८ वर्षीय यी महान् खेलाडी फेरि एकपटक विश्व फुटबलको सबैभन्दा ठूलो मञ्च ‘फिफा विश्वकप’मा देखिने भएका छन् ।

सन् २०२६ को विश्वकपका लागि अर्जेन्टिनाको २६ सदस्यीय टोलीको घोषणा भएसँगै मेसीले आफ्नो छैटौँ विश्वकप खेल्ने पक्का भएको हो । कतारमा चार वर्षअघि फ्रान्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै आफ्नो देशलाई तेस्रोपटक विश्व विजेता बनाएका मेसीले नै यसपटक पनि टोलीको कप्तानी सम्हाल्ने भएका छन् ।

२६ खेलका साथ विश्वकपमा सर्वाधिक खेल खेल्ने खेलाडीको कीर्तिमान पनि मेसीकै नाममा छ । सन् २०२६ को संस्करणमा सहभागिता जनाएसँगै उनी पोर्चुगलका ४१ वर्षीय क्रिस्टियानो रोनाल्डोसँगै छैटौँ पटक विश्वकप खेल्ने दुर्लभ कीर्तिमानधारी खेलाडीको सूचीमा उभिनेछन् ।

प्रशिक्षक लियोनल स्कालोनीले घोषणा गरेको अर्जेन्टिनी टोली निकै सन्तुलित देखिन्छ । कतार विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै ‘गोल्डेन ग्लोभ्स’ जितेका गोलरक्षक एमिलियानो मार्टिनेज पनि टोलीमा यथावत छन् ।

रक्षापँक्तिमा म्यानचेस्टर युनाइटेडका लिसान्ड्रो मार्टिनेज र टोट्टनहामका क्रिस्टियन रोमेरोको उपस्थिति पनि कायमै छ ।

मध्यपँक्तिमा लिभरपुलका एलेक्सिस म्याक एलिस्टर र चेल्सीका एन्जो फर्नान्डेजजस्ता खेलाडीहरूको साथले अर्जेन्टिनाको आक्रमण अझ धारिलो बन्ने पक्का छ । पाँचजना प्रिमियर लिग खेल्ने खेलाडीले टोलीलाई थप मजबुत बनाएको छ ।

हालै मेजर लिग सकरको खेलमा मेसी ‘ह्यामस्ट्रिङ’को समस्याले पिडीत बनेका थिए । तर, क्लबले उनी गम्भीर घाइते नभएको स्पष्ट पारेको छ ।

उनले अर्जेन्टिनाका लागि एक सय ९८ खेल खेलिसकेका छन् । अर्जेन्टिनाले विश्वकपअघि होन्डुरस र आइसल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम छ । त्यसपछि मेसीले अन्तर्राष्ट्रिय फुटबलमा दुई सय खेलको कोशेढुङ्गा पनि पूरा गर्नेछन् ।

अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजना हुने आगामी विश्वकपमा अर्जेन्टिना समूह ‘जे’ मा परेको छ । साविक विजेता अर्जेन्टिनाले आफ्नो पहिलो खेल जुन १६ तारिखमा अल्जेरियासँग खेल्नेछ । त्यसपछि टोलीले जुन २२ मा अस्ट्रिया र जुन २७ मा जोर्डनको सामना गर्नेछ ।

घोषित अर्जेन्टिनी टोलीमा गोलरक्षकको रूपमा जुआन मुसो, जेरोनिमो रुली र एमिलियानो मार्टिनेज रहेका छन् । डिफेन्डरको भूमिकामा लियोनार्दो बालेर्डी, निकोलस टागलिफिको, गोन्जालो मोन्टिएल, लिसान्ड्रो मार्टिनेज, क्रिस्टियन रोमेरो, निकोलस ओटामेन्डी, फकुन्डो मेडिना र नहुएल मोलिना छन् ।

यसैगरी, मिडफिल्डरमा लियान्ड्रो पारेडेस, रोड्रिगो डे पाउल, भ्यालेन्टिन बारको, जिओभानी लो सेल्सो, एक्सक्वेल पालासिओस, एलेक्सिस म्याक एलिस्टर र एन्जो फर्नान्डेज रहेका छन् ।

फरवार्डको भूमिकामा भने जुलियन अल्भारेज, लियोनल मेसी, निकोलस गोन्जालेज, थियागो अल्माडा, जुलियानो सिमोन, निको पाज, जोस म्यानुएल लोपेज र लाउटारो मार्टिनेज छन् ।

salt training

कमेन्ट गर्नुहोस्