०३ असार २०८३, बुधबार

कम्बोडियाले गर्‍यो भिसा अवधि नाघेका ६०२ नेपालीको जरिवाना मिनाहा

जेठ १५, २०८३
काठमाडौं
कम्बोडियाले गर्‍यो भिसा अवधि नाघेका ६०२ नेपालीको जरिवाना मिनाहा

कम्बोडियामा भिसा अवधि समाप्त भएपछि पनि बसोबास गरिरहेका ६०२ नेपाली नागरिकको अध्यागमन जरिवाना तथा शुल्क कम्बोडिया सरकारले मिनाहा गरेको छ ।

थाइल्याण्डको बैंककस्थित नेपाली दूतावासले शुक्रबार सूचना जारी गर्दै आफ्नो पहलमा कम्बोडिया सरकारले विभिन्न चरणमा आठौं पटकसम्म जरिवाना मिनाहा गर्ने निर्णय गरेको जनाएको हो ।

दूतावासका अनुसार भिसा अवधि नाघेपछि पनि कम्बोडियामा रहेका नेपाली नागरिकलाई स्वदेश फर्काउन तथा उनीहरूले तिर्नुपर्ने जरिवाना र शुल्क मिनाहा गराउने उद्देश्यले सन् २०२६ मे १ देखि विवरण संकलन कार्य शुरू गरिएको थियो।

सोही क्रममा राहदानी हराएका सबै नेपाली नागरिकका लागि एकतर्फी यात्रा अनुमति पत्र (वान वे ट्राभल डकुमेन्ट) तयार गरी कम्बोडिया पठाइसकिएको दूतावासले जनाएको छ ।

दूतावासले भिसा अवधि समाप्त भइसकेपछि पनि कम्बोडियामा रहेका सबै नेपाली नागरिकलाई एक साताभित्र अनिवार्य रूपमा नेपाल फर्किन आग्रह गरेको छ । 

कम्बोडिया सरकारले हालै लागू गरेको नयाँ कानूनी व्यवस्थाअनुसार तोकिएको अवधिभित्र स्वदेश नफर्किने विदेशी नागरिकलाई पक्राउ गरी जरिवाना तथा कैद सजायसमेत हुन सक्ने चेतावनी दिइएको छ ।

सूचनामा जरिवाना तथा शुल्क मिनाहा भएका नेपालीहरूले हवाई टिकटको व्यवस्था गरेपछि त्यसको जानकारी अग्रिम रूपमा कम्बोडियाको अध्यागमन विभागलाई गराउनुपर्ने उल्लेख छ । कम्बोडियाबाट नेपालका लागि प्रत्यक्ष उडान नभएकाले टिकट खरिद गर्दा कनेक्टिङ उडानको सुनिश्चितता गर्न पनि दूतावासले अनुरोध गरेको छ ।

दूतावासले जरिवाना तथा शुल्क मिनाहा भइसकेका व्यक्तिसँग कसैले जरिवानाका नाममा रकम मागेमा त्यसलाई ठगी मानिने र कानूनी कारबाही हुने चेतावनीसमेत दिएको छ ।

थप जानकारीका लागि नेपाली दूतावास, बैंकक तथा कम्बोडियास्थित गैरआवासीय नेपाली संघ (एनआरएनए) का पदाधिकारीहरूसँग सम्पर्क गर्न दूतावासले आग्रह गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्