२९ जेठ २०८३, शुक्रबार

एक हजार किलोमिटर सडक कालोपत्र तथा २७५ वटा सडक पुल निर्माण गर्ने सरकारको लक्ष्य

जेठ १५, २०८३
काठमाडौं
एक हजार किलोमिटर सडक कालोपत्र तथा २७५ वटा सडक पुल निर्माण गर्ने सरकारको लक्ष्य
फाइल फोटो

आगामी आर्थिक वर्ष करिब एक हजार किलोमिटर सडक कालोपत्र तथा २७५ वटा सडक पुल निर्माण गरिने लक्ष्य लिइएको छ ।

आज आगामी आव २०८३/८४ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले एक हजार २८ किलोमिटर लामो पूर्वपश्चिम राजमार्गलाई चार लेनमा स्तरोन्नति गर्ने कार्य पाँच वर्षभित्र सम्पन्न गरिने बताए ।

यसै वर्ष कमला–कञ्चनपुर तथा नारायणगढ–बुटवल सडकखण्ड स्तरोन्नतिको कार्य सम्पन्न हुने अर्थमन्त्रीको भनाइ छ ।

उनका अनुसार आगामी वर्ष काँकरभिट्टा–लौकही, कमला–बागमती, बुटवल–गोरुसिङ्गे तथा धानखोला–लमही खण्डअन्तर्गत ८० किलोमिटर सडक स्तरोन्नति गरिनेछ ।

बागमती–पथलैया, नारायणगढ–हेटौँडा तथा गोरुसिङ्गे–चन्द्रौटा खण्डको स्तरोन्नति शुरू गरिनेछ ।

पोखरिया–कञ्चनपुर, चन्द्रौटा–धानखोला तथा कोहलपुर–गड्डाचौकी सडकखण्ड स्तरोन्नतिको अध्ययन सम्पन्न गरिने बजेट वक्तव्यमा उल्लेख छ । पूर्वपश्चिम राजमार्गका लागि रु ३७ अर्ब ४६ करोड विनियोजन गरिएको छ ।

त्यसैगरी, काठमाडौं–तराई–मधेश द्रुतमार्गमा आगामी वर्ष ४० वटा पुल तथा ५.४ किलोमिटर सुरुङ निर्माण सम्पन्न गरिने अर्थमन्त्री डा वाग्लेले उल्लेख गरेका छन् ।

द्रुतमार्गको लिङ्क रोड निर्माणसमेत शुरू गरिने बजेट वक्तव्यमा उल्लेख गरिएको छ । 'यस आयोजनाका लागि रु १७ अर्ब ६४ करोड विनियोजन गरिएको छ । हुलाकी राजमार्ग आगामी तीन वर्षभित्र सम्पन्न गरिनेछ । यसअन्तर्गत घना बस्ती भएका क्षेत्रमा राजमार्ग चौडा गर्ने कार्य सुरु गरिनेछ तथा आठवटा सडक पुल निर्माण सम्पन्न गरिनेछ । हुलाकी राजमार्गका लागि रु चार अर्ब ६५ करोड विनियोजन गरिएको छ,' मन्त्री डा वाग्लेले भने, 'कर्णाली राजमार्गअन्तर्गत सुर्खेत–जुम्ला–गमगढी सडक स्तरोन्नतिका लागि रु एक अर्ब विनियोजन गरिएको छ । पुष्पलाल मध्यपहाडी राजमार्ग आगामी तीन वर्षभित्र सम्पन्न गरिनेछ । यसअन्तर्गत ६५ किलोमिटर सडक स्तरोन्नति तथा पाँचवटा पुल निर्माण सम्पन्न गर्न रु दुई अर्ब १६ करोड विनियोजन गरिएको छ ।'

उनका अनुसार मदन भण्डारी राजमार्गअन्तर्गत २५ किलोमिटर सडक कालोपत्र तथा पुल निर्माणका लागि रु एक अर्ब ४६ करोड विनियोजन गरिएको छ ।

आगामी तीन वर्षभित्र मुख्य राजमार्ग तथा रणनीतिक सडकमा निर्माणाधीन पुल सम्पन्न गरिने अर्थमन्त्रीले उल्लेख गरे ।

उनका अनुसार राष्ट्रिय राजमार्गमा पर्ने ४० वटा ठूला पुल निर्माण तथा स्तरोन्नति गरिनेछ । राष्ट्रिय राजमार्ग, रणनीतिक सडक पुल तथा स्थानीय सडक पुलका लागि रु नौ अर्ब ८७ करोड विनियोजन गरिएको मन्त्री वाग्लेको भनाइ छ ।

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आबुखैरेनीदेखि पोखरासम्म चार लेन सडक निर्माण शीघ्र सम्पन्न गरिनेछ ।

मुग्लिन–आबुखैरेनी खण्डको निर्माण शुरू गरिनेछ । नागढुङ्गा–मुग्लिन खण्डअन्तर्गत ४० किलोमिटर सडक स्तरोन्नति गरिने मन्त्री वाग्लेले बताए ।

salt training

कमेन्ट गर्नुहोस्