२८ जेठ २०८३, बिहीबार

आईपीएल फाइनलमा बेंगलुरु र गुजरात भिड्ने, दोस्रो उपाधिको खोजीमा दुवै टोली

जेठ १६, २०८३
काठमाडौं
आईपीएल फाइनलमा बेंगलुरु र गुजरात भिड्ने, दोस्रो उपाधिको खोजीमा दुवै टोली

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को उपाधिका लागि साबिक विजेता रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) र गुजरात टाइटन्स भिड्ने भएका छन् । अहमदाबादमा हुने फाइनल आइतबार हुनेछ ।  

दुवै टोली आफ्नो इतिहासको दोस्रो आईपीएल उपाधि जित्ने दाउमा मैदान उत्रिनेछन्।

यसअघि खेलिएको क्वालिफायर-१ मुकावलामा गुजरात टाइटन्सलाई पराजित गर्दै बेंगलुरुले सिधै फाइनलको यात्रा तय गरेको थियो । उक्त खेलमा बेंगलुरुका कप्तान रजत पाटीदारले अविजित ९३ रनको उत्कृष्ट इनिङ्स खेल्दै टोलीलाई लगातार दोस्रो पटक फाइनलमा पुर्‍याएका हुन्।

लिग चरणमा १० टोलीमध्ये शीर्ष स्थानमा रहेको बेंगलुरु समग्रमा पाँचौँ पटक फाइनलमा पुगेको हो। यसअघि टोलीले सन् २००९, २०११, २०१६ र २०२५ मा फाइनल खेलिसकेको छ। कप्तान पाटीदारको कप्तानीमा आरसीबीले यस सिजन निकै आक्रामक प्रदर्शन गरेको छ।

यता, क्वालिफायर-१ मा व्यहोरेको पराजयपछि गुजरात टाइटन्सले क्वालिफायर-२ मा राजस्थान रोयल्सलाई ७ विकेटले स्तब्ध पार्दै फाइनलमा बेंगलुरुसँगको भेट पक्का गर्‍यो। न्यु चण्डगढमा टस जितेर पहिले ब्याटिङ गर्दै राजस्थानले दिएको २१५ रनको विशाल लक्ष्यलाई गुजरातले १८.४ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गर्‍यो, जुन आईपीएल इतिहासमै गुजरातको सबैभन्दा ठूलो सफल रन चेज हो।

गुजरातका कप्तान शुभमन गिलले उक्त महत्त्वपूर्ण खेलमा शतकीय प्रहार गर्दै टोलीलाई फाइनलको टिकट दिलाए। कप्तानका रूपमा गिलको यो पहिलो आईपीएल फाइनल यात्रा हो।

यसअघि गुजरात टोली हार्दिक पाण्ड्याको कप्तानीमा २०२२ र २०२३ मा फाइनलमा पुगेको थियो। ५ वर्षको इतिहासमा गुजरातको यो तेस्रो फाइनल यात्रा हो।

यस फाइनल खेललाई दुई युवा तथा सफल कप्तानहरू रजत पाटीदार र शुभमन गिलबीचको रणनीतिक लडाइँका रूपमा हेरिएको छ। पाटीदारले कप्तानी सम्हालेको दुवै सिजनमा बेंगलुरुलाई फाइनल पुर्‍याएर ७० प्रतिशतको सफलता दर कायम राखेका छन् भने गिलले यस सिजन ब्याटिङ र कप्तानी दुवै मोर्चामा टोलीलाई उत्कृष्ट ढङ्गले नेतृत्व गरिरहेका छन्।

दुवै टोली लयमा रहेका कारण अहमदाबादमा हुने फाइनल भिडन्त निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अनुमान क्रिकेट विश्लेषकहरूले गरेका छन्।

salt training

कमेन्ट गर्नुहोस्