
दाङमा करेन्ट प्रवाह गरेर माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ। बबई गाउँपालिका–७ अन्तर्गत बेलासपुर–कृष्णपुरघाट क्षेत्रमा माछा मारिरहेका शान्तिनगर गाउँपालिका–४ का ४७ वर्षीय भोजराज केसी करेन्ट लागेर गम्भीर घाइते भएका थिए।
प्रहरीका अनुसार सात जनाको टोलीले ब्याट्रीमार्फत करेन्ट प्रवाह गरी माछा मार्ने क्रममा केसी बेहोस भएका थिए। उनलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल, तुलसीपुर लगिए पनि उपचारकै क्रममा मृत्यु भएको हो।
घटनापछि प्रहरीले अनुसन्धान सुरु गर्दै घटनामा संलग्न रहेको आरोपमा ६ जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।