
बाढीपहिरोले बगाएका काभ्रेपलाञ्चोकका ६ झोलुङ्गे पुल पुनर्निर्माण गरिने भएका छन् । विशेषगरी जिल्लाको दक्षिणी क्षेत्रमा रोशी खोलाको बाढीपहिराले बगाएका ती पुल निर्माणार्थ अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चित भएको हो ।
विसं २०८१ असोज १०–१२ गतेको अविरल वर्षासँगै रोशी खोलामा आएको बाढीका कारण क्षति पुगेको पक्की पुलसहित क्षतिग्रस्त झोलुङ्गे पुल झन्डै दुई वर्षपछि पुनर्निर्माण हुने भएका छन् । उक्त बाढीका कारण जिल्लाको नमोबुद्ध नगरपालिका, रोशी र तेमाल गाउँपालिका जोड्ने झोलुङ्गे पुलमा पनि क्षति पुगेको थियो ।
रोशी गाउँपालिका–३ स्थित नमोबुद्ध रोशी (पिपलटार सुँगुरेडाँडा झोलुङ्गे पुल, खाक्सी झोलु¬ङ्गे पुल, रोशी गाउँपालिका–११ स्थित माम्ती पिप्ले (लोङसाङ–कालढुङ्गा झोलुङ्गे पुल) र पिप्लेदोभान झोलुङ्गे पुल पुनर्निर्माणको लागि अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चित भएको सहरी विकास मन्त्रलालयअन्र्तगतको सस्पेन्सन ब्रिज डिभिजनका सूचना अधिकारी सिनियर डिभिजन इन्जिनियर प्रेमनारायण बस्यालले जानकारी दिए ।
सूचना अधिकारी बस्यालका अनुसार बाढीले क्षतिग्रस्त रोशी–९ स्थित नार्के झोलुङ्गे पुल र रोशी–७ स्थित कटुञ्जेबेँसी–१ युएस झोलुङ्गे पुल पुनर्निर्माणका लागि रु तीन करोडदेखि रु पाँच करोड ५० लाखसम्म स्रोत सुनिश्चित गरिएको छ ।
त्यसैगरी, वाग्मती नदीमा आएको बाढीले क्षति पुर्याएको काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका र मकवानपुर जोड्ने फार्सा झोलुङ्गे पुल पुनर्निर्माणको लागि पनि स्रोत सुनिश्चित भएको बताइएको छ ।
सूचना अधिकारी बस्यालका अनुसार स्रोत सुनिश्चित भएका झोलुङ्गे पुल पुनर्निर्माणका लागि चालु आर्थिक वर्षमा ठेक्का आह्वान गर्ने र बहुवर्षीय योजना भएकाले आगामी आवबाट पुल निर्माणको काम सुरु गरिने छ ।
पुल पुनर्निर्माणका क्रममा कहीँकतै जग्गा विवाद देखिए ती योजनालाई रोकेर अन्य योजनाको काम अघि बढाइने छ । स्रोत सुनिश्चित भएका झोलुङ्गे पुल पुनर्निर्माणको काम डेढ वर्षदेखि दुई वर्षभित्र गरिसक्ने डिभिजन कार्यालयले जनाएको छ ।