
कुशल भुर्तेलको शानदार शतकमा नेपालले चीनलाई विशाल रनको लक्ष्य दिएको छ ।
सिंगापुर नेसनल क्रिकेट ग्राउन्डमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा २ विकेट गुमाएर ३१३ रन बनायो ।
यो नेपालका लागि दोस्रो सर्वाधिक योगफल समेत हो । यसअघि नेपालले एसियन गेम्समा मंगोलियाविरुद्ध ३१४ रनको योगफल बनाएको थियो ।
एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको पहिलो खेलमा नेपालका कुशलले १२९ रनको इनिङ खेले । उनले ४३ बलमा १६ छक्का र पाँच चौका प्रहार गरे । ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा कुशलको यो दोस्रो शतक हो ।
भुर्तेलले खेलको नवौं ओभरमा ६ छक्का समेत प्रहार गरे । उनी यो कीर्तिमान बनाउने नेपालका दोस्रो खेलाडी हुन् भने विश्वकै छैटौं खेलाडी समेत हुन् ।
योसँगै कुशल टी–२० अन्तर्राष्ट्रियमा दुई शतक प्रहार गर्ने पहिलो नेपाली ब्याटर बनेका छन् । कुशलले यही खेलमार्फत टी–२० अन्तर्राष्ट्रियमा दुई हजार रन पनि पूरा गरेका छन् ।
यस्तै, कुशल मल्ल ४७ बलमा ८५ रन तथा रोहित पौडेल २१ बलमा ६९ रनमा अविजित रहे । आसिफ शेखले ११ रन जोडे ।
चीनका लागि मा कुइनचेन र डेंग जिंकीले १-१ विकेट लिए ।