
अमेरिकाको वासिङ्टन राज्यस्थित एक कागज उद्योगमा भएको रासायनिक ट्यांकी दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको छ ।
दुर्घटनापछि बेपत्ता भएका नौ जनाको शव फेला परेसँगै मृतक संख्या ११ पुगेको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् ।
गत मंगलबार वासिङ्टन राज्यको लङ्गभ्यूस्थित निप्पोन डाइनावेभ प्याकेजिङ कारखानामा ‘ह्वाइट लिकर’ नामक रासायनिक पदार्थ रहेको विशाल ट्यांकी भित्रतिर भास्सिएर दुर्घटना भएको थियो । उक्त दुर्घटनापछि दुई जनाको मृत्यु पुष्टि भएको थियो भने अन्य नौ जना बेपत्ता भएका थिए ।
काउलिट्ज–२ फायर एन्ड रेस्क्युका उपप्रमुख कर्ट स्टिचका अनुसार उद्धार तथा खोजी टोलीले एक सातासम्म भग्नावशेष हटाउने, भवनभित्र खोजी गर्ने तथा ड्रोनमार्फत निगरानी गर्ने काम जारी राखेको थियो । त्यसक्रममा बेपत्ता सबै नौ जनाको शव फेला परेको हो ।
दुर्घटनाग्रस्त ट्यांकीमा करिब ९ लाख ग्यालन (झण्डै ३४ लाख लिटर) ‘ह्वाइट लिकर’ भण्डारण गरिएको थियो । यो सोडियम हाइड्रोक्साइड र सोडियम सल्फाइड मिश्रित रासायनिक घोल हो, जसको प्रयोग कागजको लुग्दी (पल्प) उत्पादनमा गरिन्छ ।
अधिकारीहरूका अनुसार दुर्घटनापछि उक्त रसायन नजिकैको कोलम्बिया नदीमा पुगेको पुष्टि भएको छ । यद्यपि हालसम्म वायुको गुणस्तर वा लङ्गभ्यू शहरको खानेपानीमा कुनै नकारात्मक स्वास्थ्य प्रभाव नदेखिएको जनाइएको छ ।
दुर्घटना भएको कारखाना जापानको दोस्रो ठूलो कागज उत्पादक कम्पनी निप्पोन कागज अन्तर्गतको सहायक कम्पनी निप्पोन डाइनावेभ प्याकेजिङले सञ्चालन गर्दै आएको छ । उक्त कम्पनीले सन् २०१६ मा अमेरिकी काठ तथा वन उत्पादन कम्पनीबाट २२ करोड ५० लाख अमेरिकी डलरमा लङ्गभ्यूस्थित प्लान्ट खरिद गरेको थियो ।
दुर्घटनाको कारणबारे अनुसन्धान जारी रहेको अधिकारीहरूले बताएका छन् ।