२९ जेठ २०८३, शुक्रबार

दुई करोड ७९ लाख चन्दा उठाएर अस्पतालको जग्गा खरिद

जेठ १८, २०८३
बाग्लुङ
दुई करोड ७९ लाख चन्दा उठाएर अस्पतालको जग्गा खरिद

गलकोट नगर अस्पतालको सुविधासम्पन्न भवन निर्माणका लागि आवश्यक जग्गा खरिदका लागि रु दुई करोड ७९ लाख रकम स्थानीयस्तरबाटै जुटाइएको छ ।

अस्पतालको जग्गा व्यवस्थापन, खरिद तथा स्वास्थ्य उपकरण खरिदका लागि सञ्चालन गरिएको सहयोग अभियानबाट उक्त रकम सङ्कलन गरिएको हो । गलकोट नगरपालिका आर्थिक तथा जग्गा व्यवस्थापन समितिका कोषाध्यक्ष टङ्कबहादुर केसीका अनुसार अभियानमार्फत हालसम्म रु दुई करोड ७९ लाख ६२ हजार सङ्कलन गरिएको हो । रकममध्ये दुई करोडबाट अस्पतालको जग्गा खरिदमा खर्च गरिएको छ भने रु १९ लाख १० हजारबराबरको एक्स–रे मेसिन खरिद गरिएको छ । समितिका अनुसार हालसम्म रु दुई करोड २१ लाख ७५ हजार खर्च भइसकेको छ भने रु ७२ लाख ८७ हजार बैंक मौज्दात छ ।

गलकोट नगर अस्पतालको स्तरवृद्धि, पूर्वाधार विस्तार तथा दीर्घकालीन विकासका लागि आवश्यक जग्गा व्यवस्थापन गर्ने उद्देश्यले आर्थिक तथा जग्गा व्यवस्थापन समिति गठन गरी सहयोग सङ्कलन गरिएको थियो । अभियानमा देशका विभिन्न जिल्ला तथा विदेशमा रहेका गलकोटवासीले आर्थिक सहयोग गरेका थिए । गाउँमै अस्पतालको सुविधासम्पन्न भवनसँगै अन्य पूर्वाधार थप गर्न स्थानीय जुटेका थिए ।

गलकोट नगरपालिका–५ हरिचौरस्थित गलकोट नगरपालिका अस्पतालअघिको जग्गा अस्पतालको नाममा बनाउन स्थानीयले सक्रियता जनाएको गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले जानकारी दिए ।

गलकोट नगर अस्पतालमा थप स्वास्थ्य सेवा विस्तार, आधुनिक उपकरण व्यवस्थापन तथा विशेषज्ञ चिकित्सकीय सेवा सञ्चालनका लागि जग्गा व्यवस्थापनले सहज भएको गलकोट नगर अस्पतालका प्रमुख डा राजेश शर्माले बताए । 

salt training

कमेन्ट गर्नुहोस्