
'लोकान्तर राउण्ड अप'मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ-
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले भारतले नेपाली भूमि मात्र नभएर नेपालले भारतीय भूमि पनि मिचेको बताएका छन् ।
प्रतिनिधिसभाको आइतबारको बैठकको आकस्मिक प्रश्नोत्तर कार्यक्रममा उनले आफू प्रधानमन्त्री भएपछि मात्र यो विषय थाहा पाएको बताए ।
'तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि मात्र थाहा पाएँ । भारतले नेपालको मात्र होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ,' उनले भने ।
यस विषयमा दुवै देश बसेर समस्या समाधान गर्ने उनले बताए । बालेन आइतबार प्रतिनिधि सभामा सांसदहरुको प्रश्नोत्तरका उपस्थित भएका थिए । उनले ७ सांसदको प्रश्नको जवाफ दिएपनि नेपालले भारतीय भूमि मिचेको विषय भने विवादित बनेको हो ।
००००
परराष्ट्र मन्त्रालयले नेपाल-भारत सीमाबारे प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले संसद्मा दिएको अभिव्यक्तिमा प्रस्टीकरण दिएको छ ।
मन्त्रालयले आइतबार साँझ विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीले बोलेको कुरा दशगजा अतिक्रमणबारे भएको प्रस्ट पारेको हो ।
'नेपाल र भारतबीच सदियौं पुरानो, लामो र खुला सिमाना रहेको सर्वविदितै छ । नेपालको हालको अन्तर्राष्ट्रिय सीमा सन् १८१६ को सुगौली सन्धिद्वारा स्थापित र निर्देशित छ। नेपाल भारत सिमाना अन्तर्गत सुस्ता र लिम्पियाधुरा, लिपुलेक तथा कालापानी क्षेत्रमा नक्साङ्कन हुन बाँकी रहेको छ। ती स्थान बाहेक अन्य केही स्थानहरूमा 'क्रस बोर्डर अकुपेसन' तथा दशगजा अतिक्रमणको समस्याहरू विद्यमान छन्,' मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'यसै सन्दर्भमा, प्रधानमन्त्रीले संसद्मा उल्लेख गर्नुभएको विषय मूलतः दशगजा क्षेत्र अतिक्रमण र 'क्रस बोर्डर अकुपेसन' अर्थात् 'सीमा वारपारको जग्गा भोगाधिकार' सँग सम्बन्धित छ। नेपाल भारत सीमा निर्धारण गर्दा नदी सिमाना क्षेत्रमा Fixed Boundary Principle अवलम्बन गरेको कारणले 'क्रस बोर्डर अकुपेसन' भई एक देशका नागरिकले अर्को देशको भूभागभित्र पर्ने जग्गामा खेतिपाती गर्ने तथा बसोबास गर्ने अवस्था छ।'
००००
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने सोमबार भारत भ्रमणमा जाँदै छन् । भारतीय जनता पार्टीको औपचारिक निमन्त्रणामा रवि भारत जान लागेका हुन् ।
भ्रमणका क्रममा उनले राजनीतिक भेटघाट तथा त्यहाँ रहेका नेपालीसँग समेत संवाद गर्ने रास्वपाले जनाएको छ ।
रास्वपाले आइतबार राति प्रेस विज्ञप्ति जारी गर्दै सभापति लामिछाने भाजपा अध्यक्ष नितिन नवीनको निमन्त्रणामा जेठ १८ देखि २२ गतेसम्म भारत भ्रमणमा जान लागेको जानकारी दिएको थियो ।
००००
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनबाट पारित भई आएका दुईवटा विधेयकहरू प्रमाणीकरण गरेका छन्।
राष्ट्रपति पौडेलले आइतबार मध्यराति नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ प्रमाणीकरण गरेका हुन् ।
००००
आईपीएल-२०२६ को उपाधि रोयल च्यालेन्जर्स बेंगलुरुले जितेको छ । अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा आइतबार राति सम्पन्न फाइनल भिडन्तमा गुजरात टाइटन्सलाई ५ विकेटले पराजित गर्दै बेंगलुरुले लगातार दोस्रो पटक आईपीएलको उपाधि चुम्न सफल भएको हो ।
००००
प्रतिनिधिसभाको सोमबार बस्ने बैठकमा आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल सुरु हुने भएको छ।
सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको दैनिक कार्यसूची अनुसार, दिउँसो १ बजे बस्ने बैठकमा बजेटमाथि छलफल हुने तय भएको हो।
००००
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य हाललाई यथावत राख्ने निर्णय गरेको छ।
इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट घटेर नयाँ खरिद मूल्य प्राप्त भए पनि निगम सञ्चालक समितिको आइतबार बसेको बैठकले साविकको खुद्रा बिक्री मूल्यलाई नै निरन्तरता दिने निर्णय गरेको हो।
००००
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेता अनिलकुमार झालाई पार्टीको केन्द्रीय कार्यसमिति सदस्यमा मनोनयन गरेका छन् ।
राष्ट्रिय सद्भावना पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका रौतहट निवासी झालाई सभापति थापाले केन्द्रीय सदस्यमा मनोनयन गरेका हुन् ।
००००
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री डा. धवलशमशेर राणाले राप्रपा परित्याग गर्दै नयाँ अभियानको घोषणा गरेका छन् । राणाले आइतबार आह्वान जारी गर्दै नयाँ अभियान घोषणा गरिएको जानकारी दिएका हुन् ।
००००
मेडिसिटी अस्पतालले आइतबार बेलुका अध्यक्ष प्रचण्डको स्वास्थ्य अवस्थाबारे जानकारी दिन जारी गरेको ‘स्वास्थ्य बुलेटिन’ अनुसार हाल उनको स्वास्थ्य अवस्था स्थिर रहेको र उपचारप्रति सकारात्मक प्रतिक्रिया देखाइरहेको जनाएको छ ।
श्वासप्रश्वाससम्बन्धी समस्याका लक्षण देखिएपछि अध्यक्ष प्रचण्ड शनिबार बिहान ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका थिए ।
००००
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेको अध्यक्षतामा महाधिवेशन मूल आयोजक समिति गठन गरेको छ ।
जसको सदस्यहरूमा डा. स्वर्णिम वाग्ले, कविन्द्र बुर्लाकोटी, भूपदेव शाह, विपिनकुमार आचार्य, लिमा अधिकारी, वसुमाया तामाङ, मनिष झा, विराजभक्त श्रेष्ठ, दीपकराज बोहरा, गणेश पराजुली, सोविता गौतम, शिशिर खनाल, हरि ढकाल रहेका पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।
००००
आगामी आर्थिक वर्षको बजेट भाषण हुँदा नेपाली जनताहरूले राहतको सास लिएका थिए । सबैले सरकारलाई धन्यवाद पनि दिन भ्याएका थिए । तर, बजेट भाषण सकिएलगत्तै सार्वजनिक भएको आर्थिक विधेयक २०८३ ले सर्वसाधारणहरूलाई बजेटको आलोचना र विरोध गर्न बाध्य बनायो ।
एउटा गरिब परिवारले गर्मीमा पङ्खा चलाउन नपाउने ? स्कूलमा पढ्न नपाउने? उपचार गर्न नपाउने? यी प्रश्नहरू हामीले गरेका होइनौं, आमजनताहरूले गरिरहेका छन् ।
किन बजेटको यति धेरै आलोचना भइरहेको छ त ? बजेटको आलोचना हुनुको पहिलो कारण हो, विद्युतमा भ्याट ।
बजेटबाट विद्युत् महसुलमा भ्याट लाग्ने व्यवस्था गरिएको छ । बजेटले ५० युनिटभन्दा बढीको विद्युत् खपत गरेमा भ्याट लगाउने व्यवस्था गरेको छ । जसअनुसार अब ५० युनिटभन्दा बढी विद्युत् खपतमा ५ प्रतिशत भ्याट कायम गरिएको छ । जसले न्यून आय भएका र मध्यम वर्गलाई भ्याटको भार पर्ने भएको छ ।
००००
सरकारले बजेटमार्फत भन्सार महसुल बढाएपछि सुनको मूल्य एकै दिन २० हजार ५ सय रुपैयाँले बढेको छ ।
शुक्रबार २ लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबारका लागि ३ लाख ११ हजार १ सय रुपैयाँ तोकिएको छ ।