
नेपालमा अत्यधिक रुचाइएको इलेक्ट्रिक एसयूभी ओमोडा ई फाइभको नयाँ फेसलिफ्ट मोडल ‘ओमोडा ई फाइभ प्रो’ नेपाली बजारमा आधिकारिक रूपमा बिक्री शुरू भएको छ।
ओमोडा ब्रान्डको नेपालका लागि आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्सले अत्याधुनिक एसयूभीलाई बजारमा ल्याएको हो। नयाँ प्रविधि र प्रिमियम फिचर थपिएर आएको यो मोडलको मूल्य यसअघिको संस्करणभन्दा निकै सस्तो निर्धारण गरिएको छ।
कम्पनीले नयाँ ओमोडा ई फाइभ प्रोको मूल्य सिंगल टोन भेरियन्टको लागि ५१ लाख ५९ हजार रुपैयाँ तोकेको छ भने डबल टोन भेरियन्टको मूल्य ५१ लाख ९९ हजार रुपैयाँ कायम गरेको छ।
यसअघिको ओमोडा ई फाइभको सिंगल टोन ५४ लाख ९९ हजार र डबल टोन ५५ लाख ५९ हजार रुपैयाँमा बिक्री भइरहेको तुलनामा नयाँ प्रो संस्करण निकै किफायती बनेको छ। नयाँ गाडी बजारमा ल्याएको अवसरमा विशेष अफर सार्वजनिक गर्दै कम्पनीले सुरुवाती ५० जना ग्राहकका लागि मात्र ४९ लाख ९९ हजार रुपैयाँमा नयाँ ई फाइभ प्रो उपलब्ध गराउने घोषणा गरेको छ।
नयाँ ओमोडा ई फाइभ प्रोमा यसअघिको मोडलभन्दा सानो आकारको ब्याट्रीप्याक प्रयोग गरिएको छ। यसमा ५०.७ किलोवाट आवरको ब्याट्री दिइएको छ, जसले एकपटकको फुल चार्जमा ३५० किलोमिटरसम्मको डब्लूएलटीपी रेन्ज प्रदान गर्दछ। यसअघिको मोडलमा ६१ किलोवाट आवरको ब्याट्रीप्याक उपलब्ध थियो।

गाडीको मोटर क्षमतामा भने कुनै परिवर्तन गरिएको छैन। यसमा पुरानै ९९ किलोवाटको मोटरलाई निरन्तरता दिइएको छ, जसले २८८ न्युटन मिटर टर्क जेनेरेट गर्छ। नेपाली सडक सुहाउँदो यो एसयूभीमा १९१ एमएमको उच्च ग्राउन्ड क्लियरेन्स र आकर्षक १८ इन्चको अलोय ह्वील दिइएको छ।

फ्युचरिस्टिक डिजाइन फिलोसफीमा आधारित ओमोडा ई फाइभ प्रोको बाहिरी आवरण निकै बोल्ड र आकर्षक छ। यसमा एरोडायनामिक प्रोफाइल र विशेष प्यानथम विङ टेललाइटहरू समावेश गरिएका छन्, जसले यसलाई सडकमा गुड्दा शक्तिशाली र भिन्न उपस्थिति दिन्छ।

यसको भित्री क्याबिनलाई आधुनिक प्रविधि र प्रिमियम मटेरियलको संयोजनबाट विलासी बनाइएको छ। गाडीमा इलेक्ट्रिकल सनरूफ, चालकका लागि विशेष मसाज सिट, उत्कृष्ट ध्वनिका लागि ८ वटा सोनी स्पिकरयुक्त इमर्सिभ अडियो सिस्टम र ठूलो आकारको १५.६ इन्चको वाइडस्क्रिन इन्फोटेनमेन्ट डिस्प्ले राखिएको छ, जसले यात्रालाई थप मनोरञ्जक र आरामदायी बनाउँछ।

नेपालमा सार्वजनिक भएदेखि नै ओमोडा ई फाइभ आफ्नो आधुनिक लुक्स, उत्कृष्ट रेन्ज र प्रविधिको कारण लोकप्रिय बन्दै आएको छ र हालसम्म यसका १५ सयभन्दा बढी युनिट बिक्री भइसकेका छन्। यसै विरासतलाई जोगाउँदै नयाँ प्रो मोडलमा सुरक्षालाई उच्च प्राथमिकता दिइएको छ। चालकको उच्च सुरक्षा र आत्मविश्वासका लागि यसमा १९ भन्दा बढी सुविधाहरू भएको एडास फिचर र ५४० डिग्रीको सराउन्ड भ्यू क्यामेरा प्रणाली जडान गरिएको छ। आधुनिक नेपाली ग्राहकको प्रिमियम आवश्यकतालाई लक्षित गर्दै यो नयाँ फेसलिफ्ट एसयूभी बजारमा उतारिएको कम्पनीले जनाएको छ।
