
आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को क्षेत्रमा अग्रणी कम्पनी 'ओपनएआई' र यसका सीईओ साम अल्टम्यानविरुद्ध अमेरिकाको फ्लोरिडा राज्यले मुद्दा दायर गरेको छ ।
च्याटजीपीटी बालबालिकाका लागि असुरक्षित रहेको र कम्पनीले सुरक्षाभन्दा नाफालाई प्राथमिकता दिएको आरोप लगाउँदै फ्लोरिडाले सोमबार मुद्दा दायर गरेको सीएनएनले समाचारमा उल्लेख गरेको छ ।
ओपनएआईको उत्पादनका कारण सिर्जित हुनसक्ने खतरालाई लिएर कानुनी कारबाही कारबाही अघि बढाउने फ्लोरिडा अमेरिकाको पहिलो राज्य बनेको छ ।
फ्लोरिडाका महान्यायाधिवक्ता जेम्स उथमियरले पत्रकार सम्मेलन गर्दै कम्पनीले एआईको दौडमा बालबालिकाको सुरक्षालाई बेवास्ता गरेको बताए ।
अदालतमा दायर गरिएको मुद्दामा कम्पनीले व्यापारिक मर्यादा उल्लंघन गरेको, लापरवाही गरेको र उत्पादनको दायित्वसम्बन्धी कानुनको उल्लंघन गरेको आरोप लगाइएको छ । च्याटजीपीटीले सामूहिक गोलीकाण्डका लागि सहयोग पुर्याउने, आत्महत्याका लागि प्रोत्साहन गर्ने, सार्वजनिक रूपमा अपमान गराउने र बालबालिकाहरूमा यसको लत बसाल्ने जस्ता गम्भीर आरोपहरू मुद्दामा उल्लेख छन् ।
विशेषगरी च्याटजीपीटीको निःशुल्क संस्करणमा उमेर प्रमाणीकरण गर्ने प्रभावकारी संयन्त्र नभएको र अभिभावकले आफ्ना बालबालिकाले के खोजिरहेका छन् भन्ने कुराको जानकारी पाउने 'पेरेन्टल कन्ट्रोल' को समेत अभाव रहेको महान्यायाधिवक्ताको दाबी छ ।
यो मुद्दा गत वर्ष फ्लोरिडा स्टेट युनिभर्सिटीमा भएको सामूहिक गोलीकाण्डको अनुसन्धानसँग पनि जोडिएको छ । उक्त घटनाका आरोपीले आक्रमणअघि च्याटजीपीटीसँग हतियार प्रयोग र आक्रमणको योजनाबारे विस्तृत कुराकानी गरेको दाबी गरिएको छ ।
यसअघि ओपनएआईले भने उक्त घटनालाई दुःखद भन्दै च्याटजीपीटीले इन्टरनेटमा उपलब्ध तथ्यपरक जानकारी मात्र उपलब्ध गराउने र कुनै पनि हानिकारक वा अवैध गतिविधिलाई प्रोत्साहन नगर्ने स्पष्टीकरण दिएको थियो ।