
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले संसद् लगातार अवरुद्ध भइरहँदा सभामुख डोलप्रसाद अर्यालको अनुहार निन्याउरो हुँदै गएको टिप्पणी गरेकी छन् ।
उनले अब विपक्षी दल सधैँ गलत नहुने भन्दै सदनमा आएर जवाफ दिन प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले जवाफ दिनुपर्ने बताएकी छन् ।
‘हरेक दिन सभामुखको मुख सानो सानो, न्याउरो (निन्याउरो) हुँदै गएको देख्छु यो राम्रो हो त ? मलाई मात्र होइन धेरै लाई लाग्छ उहाँले आफूले चाहेर पनि आफ्नो कार्य सभा सञ्चालन गर्न पाउनुभएको छैन’, आशिकाले मंगलबार सामाजिक सञ्जालमा लेखेकी छन्, ‘त्यसैले म प्रधानमन्त्रीज्यूसँग के अपिल गर्छु भने तपाईं हाम्रो अभिभावक हो, हामी सबै तपाईंको सन्तान हौं , अब तपाईंले नै हामीलाई वास्ता नगर्ने हो भने हामी टुहुरा हुनेछौं । त्यसैले कृपया सदनमा आइदिनुभै प्रतिपक्ष दलका सवाल-जवाफ दिनुहोला र हामी सत्तापक्षको मन राखिदिनुहोला ।’
उनले राष्ट्रियताजस्ता विषयमा सत्ता र विपक्षबीच विभाजन गर्न नहुने बताउँदै प्रधानमन्त्री वालेन्द्र शाहलाई सदनमा उपस्थित भएर उठेका प्रश्नहरूको जवाफ दिन आग्रह गरेकी हुन् ।
सांसद तामाङले विपक्षी दल सधैँ गलत नहुने र सत्तापक्ष सधैँ सही नहुने उल्लेख गर्दै राष्ट्रिय हितका विषयमा सबै राजनीतिक दल एकजुट हुनुपर्ने बताएकी छन् ।
उनले प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर तीन दिनदेखि संसद् अवरुद्ध हुँदा देशले नै घाटा बेहोर्नुपरेको बताइन् । बजेटमाथिको महत्वपूर्ण छलफल हुनुपर्ने बेला सदन सञ्चालन हुन नसक्नु चिन्ताको विषय भएको उनको भनाइ थियो ।
‘संसद्को काम हाजिर गर्ने र भत्ता बुझ्ने मात्र होइन’, उनले भनिन्, ‘बजेटजस्तो महत्त्वपूर्ण विषयमा बहस हुन नसक्दा त्यसको असर देशको विकास र निकासमा पर्छ ।’
प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर विपक्षीले अवरोध गरेपछि प्रतिनिधिसभाको बैठक यही जेठ २५ गतेसम्मका लागि स्थगित भएको छ । सोमबारको बैठक पनि विपक्षीको अवरोधका कारण कार्यसूचीमा प्रवेश गर्न पाएको थिएन ।
आइतबार संसद्मा सांसहरूका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री बालेनले ‘नेपालले पनि भारतको जग्गा मिचेको’को भन्ने विवादित अभिव्यक्ति दिएका थिए ।