२३ जेठ २०८३, शनिबार
सरसर्ती २४ घण्टा

नेपाल-भारत सीमा विवादबारे भारतको प्रतिक्रियादेखि बालेनको अभिव्यक्तिले दुबै सदन अवरुद्धसम्म

जेठ २०, २०८३
काठमाडौं
नेपाल-भारत सीमा विवादबारे भारतको प्रतिक्रियादेखि बालेनको अभिव्यक्तिले दुबै सदन अवरुद्धसम्म

'लोकान्तर राउण्ड अप'मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ-

भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नयाँ दिल्लीमा आफ्नो राजनीतिक तथा कूटनीतिक भेटवार्तालाई तीव्र बनाएका छन् ।

सोमबार दिल्ली पुगेका लामिछानेले मंगलबार भारतीय गृहमन्त्री अमित शाह, विदेशमन्त्री डा. एस. जयशंकर र भारतीय जनता पार्टी (भाजपा)का राष्ट्रिय अध्यक्ष नितिन नवीनसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । उनी बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसमेतलाई भेट्ने बताइएको छ ।

००००

नेपालको राजनीतिमा युवा पुस्ताको उदय र सत्ता समीकरणमा आएको ठूलो उलटफेरपछि भएको लामिछानेको पाँच दिने भारत भ्रमणलाई भारतीय मूलधारका सञ्चार माध्यमहरूले निकै राजनीतिक महत्त्वका साथ कभर गरेका छन्।

भारतीय सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा)को विशेष निमन्त्रणामा नयाँ दिल्ली पुगेका लामिछानेका लागि दिल्लीले रेड कार्पेट बिछ्याएको निष्कर्षसहित भारतीय कूटनीतिक पत्रकारहरूले विभिन्न समाचार तथा टिप्पणीहरू सम्प्रेषण गरेका हुन् ।

महोत्तरीको सोनमा गाउँपालिकामा चोरी गर्न आएको समूहको प्रतिवाद गर्दा गोली लागेर एक दम्पती घाइते भएका छन्।

००००

 मंगलबार राति सोनमा गाउँपालिका-०३, खखना दक्षिणबारी टोलमा यो घटना भएको हो।

५/६ जनाको संख्यामा आएका लुटेरा व्यक्तिहरूको समूहले स्थानीय २७ वर्षीय रामईश्वर यादवको घरमा प्रवेश गरी चोरी गर्ने प्रयास गरेका थिए। घरभित्र छिरेका चोरहरूलाई देखेपछि रामईश्वर र उनकी २२ वर्षीया श्रीमती किरण यादवले प्रतिवाद गरेका थिए। सोही क्रममा लुटेरा समूहले उनीहरूमाथि गोली प्रहार गरेको प्रहरीले जनाएको छ।

००००

नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक बिहीबार बस्ने भएको छ ।

समितिका सचिव दिनेश थापामगरले विज्ञप्ति जारी गर्दै बिहीबारका लागि बैठक आह्वान गरिएको जानकारी दिएका हुन् ।

००००

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले महामन्त्री डा. धवलशमशेर राणाको पार्टीबाट बहिर्गमनको निर्णयप्रति आश्चर्य व्यक्त गरेका छन्।

मंगलबार विज्ञप्ति जारी गरेर लिङ्देनले पार्टी पूर्ण रूपमा महाधिवेशनतर्फ उन्मुख भइसकेको अवस्थामा राणाले पार्टी छाड्ने निर्णय गरेको समाचार अप्रत्याशित रहेको बताएका छन्।

००००

काठमाडौँ महानगरपालिका सहकारी विभागमा रु चार अर्ब ७७ करोड ४९ लाख २३ हजार बचत रकम फिर्ता गरी दिनका लागि छ हजार बढी बचतकर्ताले माग गरेका छन् ।

कामपा सहकारी विभागका अनुसार पछिल्लो समय कामपामा बचत रकम फिर्ता गरीदिनका लागि अत्यधिक माग आउन थालेको छ । कामपा सहकारी विकागका प्रमुख ध्रुवकुमार काफ्लेका अनुसार उल्लेखित बचत रकम फिर्ताका लागि गत वैशाख १७ गतेदेखि हालसम्म आएको उजुरीको आधारमा भनिएको हो ।

००००

बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । मंगलबार बसेको प्रदेशसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि परेको संशोधनको प्रस्ताव बहुमत अस्वीकृत गरेको थियो ।

००००

करिब ५४ लाख ७१ हजार रुपैयाँ बराबरको स्वदेशी तथा विदेशी मुद्रासहित नेपाल एयरलाइन्सका सवारी चालक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुनसरीको गढी गाउँपालिका वडा नम्बर १ स्थायी ठेगाना भई हाल काठमाडौंको वनस्थली बस्ने ५० वर्षीय कमलनारायण विश्वास छन् ।

००००

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले संसद् लगातार अवरुद्ध भइरहँदा सभामुख डोलप्रसाद अर्यालको अनुहार निन्याउरो हुँदै गएको टिप्पणी गरेकी छन् ।

उनले अब विपक्षी दल सधैँ गलत नहुने भन्दै सदनमा आएर जवाफ दिन प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले जवाफ दिनुपर्ने बताएकी छन् ।

००००

सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद दीपकराज बोहोराको रिटमा कारण देखाउ आदेश जारी गरेको छ ।

प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले मंगलबार विपक्षी राष्ट्रिय मानव अधिकार आयोग समेतका नाममा कारण देखाउ आदेश जारी गरेको हो ।​

००००

भारतले नेपालसँग रहेको सीमा विवाद समाधानका विषयमा कुनै तेस्रो पक्षको जरुरत नपर्ने बताएको छ ।

दुई देशबीचको सीमा विवाद आपसमा मिलाउन नेपाल र भारत सक्षम रहेकाले तेस्रो पक्षको जरुरत नपर्ने भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले बताए ।

मंगलबार भएको साप्ताहिक मिडिया ब्रिफिङमा पत्रकारहरूले सोधेका प्रश्नको जवाफ दिने क्रममा जैसवालले नेपाल र भारतबीच ९८ प्रतिशत सीमा विवाद समाधान भइसकेको पनि जानकारी दिए ।

उनले बाँकी केही क्षेत्रमा सीमा विवाद रहेको सुनाए । खासगरी गण्डक नदीले धार परिवर्तन गर्दा यस्तो समस्या निम्तिएको उनको भनाइ छ । यसका साथै दशगजाका केही क्षेत्रमा समेत सानातिना समस्या रहेका जैसवालले सुनाए ।

००००

पर्सा जिल्ला अदालतले वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई धरौटीमा छाड्न आदेश दिएको छ ।

अदालतका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले मंगलबार उनीसँग धरौटी लिएर मुद्दाको पुर्पक्ष गर्न आदेश गरेको हो ।

लिखतसम्बन्धी कसुरमा ४ लाख र झुट्टा विवरण पेश गरी नागरिकता लिएकोमा १५ हजार रुपैयाँ धरौटीमा भएको पर्सा जिल्ला अदालतका सूचना अधिकारी जयनारायण यादवले लोकान्तरलाई जानकारी दिए ।

००००

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार भने उकालो लागेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार कारोबार मापक नेप्से परिसूचक २२.२१ अङ्कले उकालो लागेर दुई हजार ७७७.५८ मा पुगेको छ ।

००००

नेपालमा स्वदेशी प्रविधिको विकासले पछिल्ला वर्षहरूमा निकै ठूलो फड्को मारिरहेको छ । यसैको पछिल्लो र शानदार उदाहरण बनेको छ- नेपालमै निर्माण भएको दुई सिटे ‘पारामोटर’ ।

महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रसँग आबद्ध इन्जिनियर राजु थापाले निर्माण गरेको यो पारामोटरले सिन्धुलीको आकाशमा सफल परीक्षण उडान गरेपछि, नेपाली नवप्रवर्तनको क्षेत्रमा नयाँ इतिहास रचिएको छ ।

००००

सीमा विवाद बारेको विवादास्पद अभिव्यक्तिबारे प्रधानमन्त्री बालेनले संसद्‌मा आएर जवाफ दिनुपर्ने माग गर्दै विपक्षी दलले अवरोध गरेपछि प्रतिनिधिसभा बैठक जेठ २५ गतेसम्मको लागि स्थगित भएको छ ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा पनि नेपाली कांग्रेसलगायत विपक्षी दलका सांसदले प्रधानमन्त्री स्वयं उपस्थित भएर सो अभिव्यक्तिबारे जवाफ दिनुपर्ने माग गरेका हुन् ।

००००

राष्ट्रियसभाको बैठक बुधबार बस्नेगरी स्थगित भएको छ । कार्यसूचीमा प्रवेश नै नगरी बैठक स्थगित भएको हो ।

००००

सरकारले भूमि समस्या समाधान समितिको अध्यक्षमा बलभद्र बास्तोला (कास्की)लाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई नियुक्त गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्