
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले गत वर्षको निर्वाचनको धक्कालाई क्षतिपूर्ति हुने गरी जनतासँग सम्बन्ध विस्तार गर्ने बताएका छन् ।
पार्टीले आजबाट शुरू गरेको सदस्यता नवीकरण कार्यशालामा बोल्दै पौडेलले पार्टीका हरेक गतिविधि अब जनतातिर फर्किने बताएका हुन् ।
जनतासँग टुटेको सम्बन्धलाई पुन जोड्नु पार्टीको मुख्य कार्यभार रहेको उनको भनाइ छ । ‘गत वर्षको जेनजी आन्दोलन र फागुनको निर्वाचनमा हामीले इतिहासमा नै खराब धक्का ब्यहोरेका छौं,’ पौडेलले भने ‘यो सिकाइबाट अब पार्टीका हरेक गतिविधि जनतातिर फर्किएका हुनेछन् र राष्ट्रिय हिततिर फर्किएका हुनेछन् ।’
उपाध्यक्ष पौडेलले संगठनात्मक जीवनमा भोगेका चुनौतीलाई सामूहिक रूपमा किनारा लगाउनु सबै सदस्यको दायित्व भएको बताए । उनले पार्टी सदस्यता प्राप्ति तथा नवीकरण केवल एउटा सदस्यता मात्र नभई त्यसलाई एउटा राजनीति, विचार र जिम्मेवारी प्राप्तिको रूपमा पनि बुझ्नु पर्ने बताए ।
सन् १९२० मा स्थापना भएको छिमेकी भारतीय कम्युनिष्ट पार्टी र चीनमा सन् १९२१ मा स्थापना भएको चिनियाँ कम्युनिष्ट पार्टीका कार्यशैलीले एउटा कम्युनिष्ट पार्टी अत्यन्तै कमजोर भएको र अर्को कम्युनिष्ट पार्टी विश्वकै शक्तिशाली हुँदै गएको उनले स्मरण गरे । ‘भारतको कम्युनिष्ट पार्टी इतिहासमै कमजोर भयो तर चीनको कम्युनिष्ट पार्टी शताब्दीमा शक्तिशाली छ’ पौडेलले भने ‘नेपालले छिमेकका यी दुई ठूला देशका कम्युनिष्ट पार्टीका कार्यशैलीबाट आफू कस्तो अवस्थामा पुग्ने भन्ने पनि शिक्षा लिनु पर्दछ ।’