
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । उनीहरूबीच बुधबार दिउँसो भेटवार्ता भएको हो ।
मोदीसँगको भेटमा लामिछानेले नेपाली राष्ट्रिय पोशाक दौरा सुरुवाल र कोट लगाएका थिए भने मोदीले कुर्था पाइजामा लगाएका थिए ।
यसका साथै पृष्ठभूमिमा नेपाल-भारतको राष्ट्रिय झण्डा राखिएको थियो ।
भारतीय जनता पार्टीको निमन्त्रणमा दिल्ली गएका लामिछानेले मंगलबार भाजपा अध्यक्ष नितिन नवीन, भारतीय विदेशमन्त्री डा. एस.जयशंकर र गृहमन्त्री अमित शाहलगायतसँग भेटवार्ता गरेका थिए ।
लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी धर्मपत्नी निकिता पौडेल, रास्वापाका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपीनकुमार आचार्य, रास्वपाका सचिवालय सदस्य तथा प्रतिनिधिसभा सदस्य दीपक बोहरा र स्वकीय सचिव प्रदीप आचार्य सहभागी छन् ।
भेटमा भारतीय विदेशमन्त्री डा एस जयशङ्कर, प्रधानमन्त्री मोदीका सुरक्षा सल्लाहकार अजित डोभल, विदेशसचिव विक्रम मिश्रीलगायतको उपस्थिति थियो ।