
मुलुकको पश्चिमी क्षेत्र आसपास उपल्लो वायुमण्डलमा रहेको न्यून चापीय प्रणाली तथा स्थानीय वायुको प्रभावका कारण देशका हिमाली तथा पहाडी भागमा वर्षा हुने तथा तराईका केही क्षेत्रमा गर्मी बढ्ने सम्भावना छ ।
पानी पर्ने क्रम कम भएसँगै गर्मी बढ्न थालेको हो । देशका विभिन्न ठाउँमा अस्तिसम्म ३७ डिग्रीभन्दा तलै रहेको तापक्रम बढेर ४१ डिग्री सेल्सियससम्म पुगेको छ । हिजो सबैभन्दा बढी भैरहवामा अधिकतम तापक्रम ४१ डिग्री सेल्सियस पुगेको हो ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भागमा साधारणतया बदली रहेको छ ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भागका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
आज दिउँसो हिमाली तथा पहाडी भागका केही तथा मधेश र कोशीका तराईका एक/दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना छ ।
साथै मधेश, कोशी, बागमती र गण्डकीका तराई क्षेत्रमा तापक्रम बढ्ने अनुमान गरिएको छ ।
आज राति कोशी र मधेशसहित बागमतीका हिमाली तथा पहाडी भाग तथा गण्डकी र कर्णालीका हिमाली भागका एक/दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ ।
त्यसैगरी, देशका हिमाली तथा पहाडी भागका केही तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका एक/दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।
मधेश तथा कोशीका तराई क्षेत्रमा तापक्रम बढ्ने सम्भावना रहेकाले सतर्कता अपनाउन र मौसमसम्बन्धी पछिल्ला सूचनामा अद्यावधिक रहन सम्बद्ध महाशाखाले सबैसँग आग्रह गरेको छ ।