
'लोकान्तर राउण्ड अप'मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ-
सिंगापुरमा जारी एसियाली खेलकुदको छनोट क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । नेपालले बिहीबार खेलिएको खेलमा मलेसियालाई एक सय ६७ रनले हरायो ।
जितसँगै नेपाल चार अंकसहित समूह ‘ए’को विजेताका रूपमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । यसअघि, नेपालले आफ्नो पहिलो खेलमा चीनलाई दुई सय २१ रनले हराएको थियो ।
००००
टिकटकर तुलसा भन्ने तुल्सी अधिकारी पुर्पक्षका लागि कारागार चलान भएकी छन् ।
बिहीबार जिल्ला अदालत ललितपुरका न्यायाधीश टेकनाथ गौतमको एकल इजलासले अधिकारीलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश गरेको हो ।
अधिकारीविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले आपराधिक लाभ (एक्सटर्सन), संगठित अपराध र सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) कसुरमा अदालतमा मुद्दा दर्ता गरेको थियो ।
००००
उपचारका नाममा कैदीलाई प्रहरीले गेष्टहाउस पुर्यारएर एक युवतीसँग भेटाइ मासु र बियर खुवाएको घटना बाहिरिएको छ ।
ठगी अपराधमा केन्द्रीय कारागार सुन्धारामा जेल जीवन बिताइरहेका अनुप भण्डारी नामका कैदीलाई प्रहरीले अस्पतालको बहानामा गेष्टहाउस पुर्यालएको घटना बाहिरिएको हो ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयले यो घटनाको छानबिन समिति बनाएको थियो । छानबिन समितिले प्रतिवेदन बुझाउँदै घटनामा संलग्न दुई प्रहरी कर्मचारीलाई बर्खास्त गर्न सिफारिस गरिएको छ।
घटना, यही जेठ १ गतेको हो । कारागार प्रशासनको पत्रका आधारमा नेपाल प्रहरी अनाश्रित गुल्म जगन्नाथदेवलले भण्डारीलाई उपचारका लागि सामाखुसीस्थित अस्पताल लैजान प्रहरी सहायक हवल्दार होमबहादुर कुँवर र प्रहरी जवान टेकबहादुर विकलाई खटाएको थियो ।
तर, भण्डारीलाई अस्पतालबाट फर्काएर सामाखुसीस्थित दीप सागर गेष्टहाउसमा लगियो । त्यहाँ उनले बियर तथा मासु मात्रै सेवन गरेनन्, एक युवतीसँग करिब तीन घण्टा समय बिताएको विषय छानबिन समितिले प्रतिवेदनमा औंल्याएको छ ।
गेष्टहाउस व्यवस्थापन पक्षले समेत भण्डारी होटलको कोठामा बसेको पुष्टि गरेका छन् ।
००००
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले बारा जिल्ला सभापति राजेश राय यादवलाई पदबाट निलम्बन गर्ने निर्णय गरेको छ ।
समितिका सचिव दिनेश थापामगरद्वारा बिहीबार जारी विज्ञप्तिअनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोपसम्बन्धी उजुरीमाथि अनुसन्धान चलिरहेका बेला यादवलाई सभापतिको जिम्मेवारीमा रहन नपाउने गरी निलम्बन गरिएको हो ।
००००
नेपाली कांग्रेसका सभापति गगन थापाले आफू लगायत कांग्रेसका सबै नेताले सरकारले गठन गरेको सम्पत्ति जाँचबुझ आयोगलाई विवरण बुझाउन तयार रहेको बताएका छन् । तर, आयोगले निष्पक्ष, स्वच्छ र पारदर्शिता भएर अनुसन्धान गर्नुपर्ने थापाको भनाइ छ ।
सभापति थापाले सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि सार्वजनिक पद धारण गरेका सबै व्यक्तिको सम्पत्ति छानबिन आवश्यक रहेको बताए । हरेक पटकका राजनीतिक आन्दोलनको प्रमुख विषय सार्वजनिक जिम्मेवारीमा बसेकाहरूको निजी सम्पत्तिको विषय भएकाले अहिले यो टुंगिनुपर्ने थापाले बताएका हुन् ।
००००
संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले पूर्वराष्ट्रपतिद्वय डा. रामवरण यादव र विद्यादेवी भण्डारीसँग छुट्टाछुट्टै भेट गरी संविधान संशोधनका विषयमा महत्त्वपूर्ण सुझाव संकलन गरेको छ ।
नेपालको संविधानलाई समयसापेक्ष, व्यावहारिक र थप सुदृढ बनाउने उद्देश्यका साथ उनीहरूबाट मार्गदर्शक सुझाव संकलन गरिएको हो ।
००००
भूमि व्यवस्था, सहकारी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको नापी विभागले ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक गरेको छ । सामान्य प्रशासनमन्त्री प्रतिभा रावलको उपस्थितिमा बिहीबार उक्त एप सार्वजनिक गरिएको हो । एपमार्फत नागरिकले जग्गासम्बन्धी सेवा घरमै बसेर प्राप्त गर्न सक्ने भएका छन् ।
००००
नेपालको अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या रहेको एक अध्ययन प्रतिवेदनले पुष्टि गरेको छ ।
काठमाडौँमा बिहीबार एक्सनएडले सार्वजनिक गरेको प्रतिवेदनमा १३ जिल्लाका ३६१ श्रमिकमाथि गरिएको अध्ययनमा ६६ दशमलव २ प्रतिशतले ज्याला नै नपाएको र ७३ दशमलव ४ प्रतिशत श्रमिकले आंशिक ज्याला प्राप्त गरेको उल्लेख छ ।
तेह्र जिल्लाका ३६१ जना श्रमिकबीच गरिएको सर्वेक्षणमा ९३ दशमलव १ प्रतिशतसँग लिखित सम्झौता नभएको, ८९ दशमलव २ प्रतिशतले औपचारिक उजुरी नदिएको, २४ दशमलव ९ प्रतिशतले ढिलो भुक्तानी पाएको तथा १८ दशमलव ० प्रतिशतले सहमत दरभन्दा कम ज्याला पाएको उल्लेख छ ।
००००
परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत प्रबुद्ध समूह (ईपीजी) को प्रतिवेदनप्रति चासो देखाएका छन् ।
ईपीजीका नेपाली टोलीका पूर्वसंयोजक तथा पूर्वपरराष्ट्रमन्त्री डा. भेषबहादुर थापासहितका सदस्यहरूले बिहीबार मन्त्री खनाल भेटेका थिए । सो क्रममा खनालले प्रतिवेदनप्रति चासो देखाएपछि थापाले मन्त्रालयमै प्रतिवेदन राखिएको दराजको साँचो हस्तान्तरण गरे।
००००
बागमती प्रदेश सरकारले अपाङ्ग प्रादेशिक नीति २०८३ लाई स्वीकृत गरेको छ । बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले सो नीति स्वीकृत गरेको हो ।
उक्त बैठकले प्रदेशको विभिन्न जिल्लामा ‘र्या पटिङ’ स्कुल सञ्चालन गर्न सैद्धान्तिक स्वीकृत दिएको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले बताए ।
००००
नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिकको समय थप गरेको छ ।
पार्टीको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बिहीबार बसेको बैठकले क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि जेठ २८ गते राति १२ बजेसम्मका लागि अन्तिम पटक थप गर्ने निर्णय गरेको हो ।
००००
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वमहामन्त्री धवल शम्शेर राणाले नयाँ राष्ट्रवादी राजनीतिक शक्ति निर्माणको औपचारिक प्रक्रिया शुरू भएको घोषणा गरेका छन् ।
बिहीबार जारी विज्ञप्तिमार्फत राणाले समयको माग, जनभावना र राष्ट्रवादी शक्तिको रिक्ततालाई सम्बोधन गर्न नयाँ राजनीतिक दल निर्माणको अभियान शुरू गरिएको बताएका हुन् । उनले देशप्रेम, अवसर र प्रविधिमा आधारित नयाँ राजनीतिक यात्राको उद्घोष गरिएको उल्लेख गरेका छन् । यससँगै राप्रपा विभाजित भएका छन् । राणाले विभाजनको शब्द प्रयोग नगरेपनि राप्रपाकै कैयन नेताहरुलाई राजीनामा गराएर नयाँ पार्टी बनाउन अघि बढेका छन् ।
००००
सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालयको एमटी शाखा (सवारी शाखा)मा बुधबार राति भएको आगलागी घटनाको छानबिन गर्न समिति गठन भएको छ ।
प्रधान कार्यालयले डीआईजी सन्दीप थापाको नेतृत्वमा छानबिन समिति गठन गरेको हो । सशस्त्र प्रहरी बलका प्रवक्ता एवं डीआईजी विष्णुप्रसाद भट्टका अनुसार समितिले काम शुरू गरिसकेको छ । समितिलाई छिटो छानबिन सकाएर प्रतिवेदन पेस गर्न भनिएको छ ।
००००
सगरमाथा आधार शिविर क्षेत्रमा एक सातादेखि हराइरहेका पर्यटन श्रमिक दावा शेर्पा (हिलारी) जीवितै भेटिएपछि हेलिकोप्टरमार्फत उद्धार गरी काठमाडौं ल्याइएको छ ।
खुम्बु आइसफल क्षेत्रबाट उद्धार गरिएका शेर्पालाई प्रारम्भिक उपचारपछि हेलिकोप्टरमार्फत काठमाडौंको ह्याम्स अस्पताल ल्याइएको हो । हिउँले हातखुट्टा प्रभावित भएको अवस्थामा भेटिएका उनलाई थप उपचारका लागि काठमाडौं ल्याइएको हो ।
००००
सशस्त्र प्रहरी बल नेपालले भन्सार छली गरेर भित्र्याइएको आशंकामा मुस्ताङको कोरोला नाकाबाट ७७५ वटा विद्युतीय गाडी (ईभी) नियन्त्रणमा लिएको छ।
गएराति सशस्त्र प्रहरीको विशेष टोलीले जोमसोम, पर्वतको कुस्मा र कास्कीको हेम्जाका विभिन्न स्थानबाट ती गाडीहरूलाई आफ्नो नियन्त्रणमा लिएको हो।