२४ जेठ २०८३, आइतबार

एसियाली खेलकुदको छनोट क्रिकेट : सेमिफाइनलमा नेपालको प्रतिद्वन्द्वी ओमान

जेठ २२, २०८३
काठमाडौं
एसियाली खेलकुदको छनोट क्रिकेट : सेमिफाइनलमा नेपालको प्रतिद्वन्द्वी ओमान

नेपाली टोलीले सिंगापुरमा जारी एसियाली खेलकुदको छनोट क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रतिद्वन्द्वीका रूपमा ओमानलाई पाएको छ ।

समूह ‘बी’को शुक्रबार सम्पन्न खेलमा हङकङसँग एक सय ५४ रनले पराजित भएपछि ओमान सेमिफाइनलमा नेपालको प्रतिद्वन्द्वी बनेको हो ।

उक्त खेलमा पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा केवल एक विकेट गुमाएर दुई सय ८७ रनको विशाल योगफल तयार पारेको थियो ।

हङकङका लागि ओपनर ब्याट्सम्यान अंशुमन रथले उत्कृष्ट शतकीय पाली खेले । उनले केवल ५६ बलमा १० छक्का र १३ चौकाको मद्दतले अविजित एक सय ४० रन बनाए ।

अर्का ओपनर निजाकत खान र बाबर हायातले पनि अर्धशतक बनाए । निजाकत खानले ४५ बलमा चार छक्का र ६ चौकाको मद्दतले ७६ रन बनाए ।

तेस्रो नम्बरका ब्याट्सम्यान बाबर हायातले पनि आक्रामक ब्याटिङ गर्दै केवल १९ बलमा पाँच छक्का र सात चौकाको मद्दतले अविजित ६३ रन बनाए ।

ठूलो लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको ओमानले भने निर्धारित ओभरमा आठ विकेट गुमाएर एक सय ३३ रनमात्र बनाउन सक्यो ।

समूह ‘बी’मा पहिलो भएको हङकङले समूह ‘ए’को उप–विजेता मलेसियासँग सेमिफाइनल खेल्नेछ । नेपाल र ओमानबीचको सेमिफाइनल खेल आइतबार खेलिने छ ।

हङकङ र मलेसियाबीचको दोस्रो सेमिफाइनल खेल पनि सोही दिन खेलिने छ । नेपाली टोली समूहगत चरणमा दुईवटै खेल जित्दै अन्तिम चारमा प्रवेश गरेको हो ।

नेपालले आफ्नो पहिलो खेलमा चीनलाई दुई सय २१ रनको फराकिलो अन्तरले हराएको थियो । आफ्नो दोस्रो खेलमा पनि नेपालले मलेसियामाथि एक सय ६७ रनको सजिलो जित हासिल गरेको थियो ।

चीन र मलेसिया दुवै टोलीविरुद्धको खेलमा नेपालका लागि ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले आकर्षक शतक बनाएका थिए ।

जारी प्रतियोगिताको सेमिफाइनलमा पुग्ने चारवटै टोली आगामी एसियाली खेलकुद प्रतियोगितामा पनि छनोट भएका छन् ।

एसियाली खेलकुदको २० औं संस्करण आगामी सेप्टेम्बर १९ देखि अक्टोबर ४ तारिखसम्म जापानमा आयोजना हुँदैछ ।

एसियाली खेलकुदको पुरुष क्रिकेटमा १० टोलीको सहभागिता रहने छ । जापानले आयोजकका रूपमा सहभागिता जनाउने छ ।

अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान र श्रीलंकाले भने आईसीसीको पूर्णकालीन सदस्यका रूपमा प्रतियोगिता खेल्नेछन् । बाँकी चार टोलीको टुङ्गो यही छनोट प्रतियोगिताबाट लागेको हो ।

नेपाल र ओमानबीच हालसम्म टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा कूल नौ खेल खेलिएको छ । त्यसमध्ये ६ खेलमा नेपालले ओमानलाई हराएको छ ।

दुई खेलमा ओमानले नेपाललाई पराजित गरेको छ । नेपाल र ओमानबीचको एक खेल भने बराबरीमा सकिएको थियो ।

त्यो खेलमा ‘सुपर ओभर’मा ओमान विजयी भएको थियो । यी दुवै टोली सिंगापुरमा भने पहिलो पटक आपसमा भिड्न लागेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्