
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका पूर्वसांसद डा. धवल शम्शेर राणा र दुर्गा प्रसाईं नेतृत्वको नागरिक बचाउ महाअभियानबीच नयाँ राजनीतिक दल गठन गर्ने सहमति भएको छ ।
दुवै पक्षबीच शुक्रबार भएको सहमतिपत्रमा वृहत् राष्ट्रवादी एकता कायम गर्दै नयाँ राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यसहित सहकार्य गर्ने उल्लेख छ ।
सहमतिको प्रस्तावनामा नेपालको भौगोलिक अखण्डता, सांस्कृतिक मौलिकता, धार्मिक स्वतन्त्रता, भाषिक विविधता तथा सभ्यतागत निरन्तरताको संरक्षण र प्रवर्द्धनलाई केन्द्रमा राख्दै राष्ट्रवादी शक्ति निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
दुवै पक्षले वैदिक सनातन सभ्यताबाट निर्देशित राष्ट्रको इतिहास, परम्परा र सामूहिक राष्ट्रिय चेतनालाई आधार मानी संवैधानिक राजसंस्थाको पुनर्स्थापनाका लागि सशक्त लोकतान्त्रिक र राष्ट्रवादी राजनीतिक शक्ति आवश्यक रहेको निष्कर्ष निकालेका छन् ।
सहमतिपत्रमा किराँत, बौद्ध तथा सनातन हिन्दू परम्परासहितको राष्ट्रवादी अवधारणालाई स्वीकार गरिएको छ । साथै राष्ट्रिय एकताका प्रतीक पृथ्वीनारायणका दिव्य उपदेशमा आधारित राष्ट्रवादी दर्शनलाई मार्गदर्शक सिद्धान्तका रूपमा उल्लेख गरिएको छ ।
नयाँ दलका आधारभूत एजेन्डामा सुधारमुखी संघीयता, दोहोरो नागरिकताको व्यवस्था, लघुवित्त, सहकारी, बैंक तथा मिटरब्याजका कारण समस्यामा परेका नागरिकको दिगो समाधान, असंलग्न परराष्ट्र नीति, सुशासन, भ्रष्टाचार नियन्त्रण तथा स्वदेशी उत्पादनमा आधारित मिश्रित अर्थतन्त्र समावेश गरिएको छ ।
सहमतिपत्रमा विचार र सिद्धान्त मिल्ने अन्य राजनीतिक दल, अभियान, संगठन तथा व्यक्तिहरूलाई समेत समेटेर नयाँ राजनीतिक पार्टी घोषणा गर्ने उल्लेख छ । साथै नयाँ दलका विभिन्न संरचनामा ६० प्रतिशत युवा र महिला सहभागिता सुनिश्चित गर्ने प्रतिबद्धता पनि जनाइएको छ ।
राप्रपा परित्याग गरेको भोलिपल्टै धवल शम्शेरले प्रसाईंसँग सहकार्य अघि बढाएका हुन् ।