
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुर्खेत जिल्लाको सभापतिमा रमेशकुमार सापकोटा पुनः निर्वाचित भएका छन् ।
पार्टीको आइतबार सुर्खेत वीरेन्द्रनगरमा आयोजित जिल्ला भेलाले सापकोटालाई पुनः जिल्ला सभापतिको जिम्मेवारी दिएको हो । पार्टी सङ्गठन विस्तार, जनसम्पर्क तथा स्थानीय तहसम्म सङ्गठन सुदृढीकरणमा सक्रिय भूमिका निर्वाह गरेका कारण उनलाई दोस्रो कार्यकालका लागि जिल्लाको नेतृत्व गर्ने जिम्मेवारी दिइएको बताइएको छ ।
रास्वपाको स्थापनादेखि सुर्खेतको नेतृत्व गर्दै आएका सापकोटा गएको फागुन २१ गतेको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा सुर्खेत क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । उनी कर्णाली प्रदेशमा रास्वपाबाट निर्वाचित हुने एकमात्र प्रतिनिधिसभा सदस्य हुन् ।
सभापति सापकोटाका अनुसार आफू सर्वसम्मत भए पनि रास्वपा सुर्खेतका बाँकी पदाधिकारी तथा जिल्ला कार्यसमिति सदस्य चयनको टुङ्गो अब बस्ने निर्वाचन समितिको बैठकले लगाउने छ । जिल्ला कार्यसमिति १३ सदस्यीय हुने उनले जानकारी दिए ।