
मध्यपूर्वमा तनाव केही कम भएसँगै अमेरिकी डलर दुई महिनायताकै उच्च विन्दुबाट ओरालो लागेको छ ।
यद्यपि अमेरिका र युरोपमा ब्याजदर बढ्न सक्ने अपेक्षा बलियो बनेपछि मुद्रा बजारमा उतारचढाव भने सीमित रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अपिलपछि सोमबार इरान र इजरायलले एकअर्कामाथिका आक्रमण रोकेका थिए । यद्यपि इरानले लेबनानस्थित आफ्नो समर्थक समूह हिजबुल्लाहमाथि इजरायलले आक्रमण जारी राखे पुनः हमला गर्न सक्ने चेतावनी दिएको छ ।
ट्रम्पले केही दिनभित्र इरानसँगको सम्भावित सम्झौताबारे योजना सार्वजनिक गर्न सक्ने संकेत दिएपछि लगानीकर्ताहरू आशावादी बनेका छन् । तर तीन महिनाभन्दा लामो युद्ध अन्त्य गर्न भएका अघिल्ला प्रयासहरू सफल हुन नसक्दा तेलको मूल्य र डलर दुवै उच्च स्तरमै रहेका छन् ।
मंगलबार युरो ०.१ प्रतिशतले मजबुत हुँदै १.१५४५ डलर पुगेको छ । अघिल्लो कारोबारमा यो दुई महिनाकै न्यून स्तरमा झरेको थियो । बेलायती पाउन्ड स्टर्लिङ पनि करिब ०.२ प्रतिशतले बढेर १.३३६० डलर पुगेको छ ।
जोखिमप्रति संवेदनशील मानिने अष्ट्रेलियन डलर ०.२ प्रतिशतले बढेर ०.७०५६ अमेरिकी डलर पुगेको छ भने न्युजिल्यान्ड डलर ०.४ प्रतिशतले बढेर ०.५८३३ अमेरिकी डलर पुगेको छ ।
जापानी येन भने कमजोर हुँदै प्रतिअमेरिकी डलर १६०.२९५ येनसम्म पुगेको छ । यो स्तरलाई जापानी अधिकारीहरूले हस्तक्षेप गर्न सक्ने सीमा नजिकको बिन्दुका रूपमा हेरिरहेका छन् ।
येन र युरोसहित प्रमुख मुद्राको तुलनामा अमेरिकी डलरको अवस्था मापन गर्ने डलर सूचकांक ०.१ प्रतिशतले घटेर ९९.९ मा पुगेको छ । सोमबार उक्त सूचकांक दुई महिनायताकै उच्च १००.२१ विन्दुसम्म पुगेको थियो ।
अष्ट्रेलियाको कमनवेल्थ बैंककी वरिष्ठ अर्थशास्त्री तथा मुद्रा रणनीतिकार क्रिस्टिना क्लिफ्टनका अनुसार यस साता अमेरिकी डलरमाथि दुवैतर्फको दबाब रहनेछ । मध्यपूर्वमा सम्झौता भए सुरक्षित लगानीको माग घट्ने भएकाले डलर कमजोर हुन सक्छ, तर तनाव पुनः बढेमा डलर फेरि बलियो बन्ने सम्भावना छ ।
यसबीच चीनको निर्यात मे महिनामा बढेको देखाउने तथ्यांक सार्वजनिक भएपछि चिनियाँ युआन पनि केही मजबुत बनेको छ । मंगलबार युआन प्रतिअमेरिकी डलर ६.७७५६ मा कारोबार भएको थियो ।
ब्याजदर वृद्धितर्फ बजारको ध्यान
अब लगानीकर्ताको ध्यान प्रमुख केन्द्रीय बैंकहरूको निर्णयतर्फ केन्द्रित भएको छ । युरोपेली केन्द्रीय बैंक (एफसीबी)ले बिहीबार हुने बैठकमा ब्याजदर ०.२५ प्रतिशत बिन्दुले बढाएर २.२५ प्रतिशत पुर्याउने सम्भावना बजारले पूर्ण रूपमा मूल्यांकन गरिसकेको छ । वर्षको अन्त्यसम्म मुख्य ब्याजदर २.५ प्रतिशतदेखि २.७५ प्रतिशतसम्म पुग्न सक्ने अनुमान गरिएको छ ।
अमेरिकामा पनि बुधबार सार्वजनिक हुने मुद्रास्फीति तथ्यांकलाई लगानीकर्ताले चासोपूर्वक हेरिरहेका छन् । गत साता सार्वजनिक भएको बलियो रोजगारी तथ्यांकपछि अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले यस वर्ष ब्याजदर बढाउन सक्ने अपेक्षा बढेको छ ।
सीएमई फेडवाचका अनुसार फेडरल रिजर्भले डिसेम्बरसम्म ब्याजदर बढाउने सम्भावना ७० प्रतिशत पुगेको छ ।
ब्याजदर वृद्धि हुने अपेक्षाले अमेरिकी सरकारी ऋणपत्रको प्रतिफल पनि उच्च स्तरमा कायम छ । दुई वर्षे ट्रेजरी नोटको प्रतिफल १५ महिनायताकै उच्च स्तर नजिक पुगेको छ भने १० वर्षे ऋणपत्रको प्रतिफल ४.५ प्रतिशतभन्दा माथि रहेको छ ।
आईजीका बजार विश्लेषक टोनी साइकामोरका अनुसार अपेक्षाभन्दा उच्च मुद्रास्फीति देखिएमा फेडरल रिजर्भले वर्षभित्रै ब्याजदर बढाउने सम्भावना अझ बलियो बन्नेछ । त्यसले अमेरिकी डलरलाई थप समर्थन गर्ने र अमेरिकी सेयर बजारमाथि दबाब सिर्जना गर्नेछ ।