
दक्षिण एसियाली फुटबलका दिग्गज खेलाडी भाइचुङ भुटिया फिफा वर्ल्ड कप २०२६ को प्रसारण अनुभवको हिस्सा बन्न नेपाल आउने भएका छन् । नेपालको आधिकारिक स्पोर्ट्स प्रसारण प्लेटफर्म हिमालय स्पोर्ट्सले दक्षिण एसियाकै महान् फुटबलरमध्ये एक मानिने भुटिया नेपाल आउन लागेको औपचारिक घोषणा गरेको हो ।
भुटिया नेपालमा आयोजना हुने 'रेड बुल फुटबल २६, इन एसोसिएसन विथ प्रोटोन इ.मास'मा सहभागी हुनेछन् । यो फिफा वर्ल्ड कप २०२६ का लागि विशेष रूपमा तयार गरिएको प्रि-म्याच र पोस्ट-म्याच शो हो।
विशेष शोमा भाइचुङ भुटियाका साथै नेपालका चर्चित फुटबल खेलाडीहरू र स्थापित फुटबल व्यक्तित्वहरूको पनि उत्साहजनक सहभागिता रहनेछ । यसले दक्षिण एसियाली फुटबलको अनुभव, नेपाली फुटबलको दृष्टिकोण र उत्साहपूर्ण विश्लेषणलाई एउटै ठाउँमा ल्याउने विश्वास गरिएको छ।
विश्वकै सबैभन्दा ठूलो फुटबल प्रतियोगिताप्रति उत्साह बढ्दै गर्दा, भाइचुङ भुटिया र नेपालका फुटबल स्टारहरूको उपस्थितिले नेपाली दर्शकहरूका लागि वर्ल्ड कप अनुभवलाई अझ विशेष बनाउने हिमालय स्पोर्ट्सले जनाएको छ ।
प्रि-म्याच र पोस्ट-म्याच शोमा विशेषज्ञ विश्लेषण, म्याच प्रिभ्यू, पोस्ट-म्याच प्रतिक्रिया, रणनीतिक छलफल र विशेष फुटबल सामग्री प्रस्तुत गरिनेछ, जसले दर्शकहरूलाई फिफा वर्ल्ड कपको रोमाञ्चसँग अझ नजिक बनाउने हिमालय स्पोर्ट्सको विश्वास छ।
घोषणाबारे बोल्दै हिमालय स्पोर्ट्सका सीईओ एन्ड डाइरेक्टर सुरज गिरीले फिफा वर्ल्ड कपको कभरेजको हिस्सा बन्न भाइचुङ भुटियालाई नेपालमा स्वागत गर्न पाउँदा आफूहरू अत्यन्तै खुसी भएको बताए । उनले नेपालका आफ्नै फुटबल स्टारहरूसँगै भुटियाको उपस्थितिले देशभरका फुटबल प्रेमीहरूका लागि वर्ल्ड कप अनुभवलाई अझ विशेष बनाउने विश्वास समेत व्यक्त गरे ।
नेपालमा फिफा वर्ल्ड कका खेलहरू टेलिभिजनमा हिमालय स्पोर्ट्स एचडी र डिजिटल रूपमा डिगो मोबाइल एपमार्फत प्रत्यक्ष हेर्न सकिनेछ । नेपाली दर्शकहरूका लागि प्रसारण सेवा सुलभ बनाउन टिभीमा फिफा वर्ल्ड कप प्याकेज ९९९ मा र मोबाइलमा डिगोमार्फत ५४९ मा सब्सक्राइब गर्न सक्ने व्यवस्था मिलाइएको छ।
भव्य विश्वकप प्रसारण अभियानलाई थप व्यापक, आकर्षक र प्रभावशाली बनाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरूले साझेदारी गरेका छन्। हिमालय स्पोर्ट्सले यस वर्षको फिफा वर्ल्ड कपको आधिकारिक तथा एक्सक्लुसिभ ब्रोडकास्टरको रूपमा खेलहरूको प्रत्यक्ष प्रसारण गर्ने जिम्मेवारी पाएको छ ।