२८ जेठ २०८३, बिहीबार

योग्य, सक्षम इमान्दार नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी

जेठ २६, २०८३
काठमाडौं
योग्य, सक्षम इमान्दार नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी

 राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का महामन्त्री कविन्द्र बुर्लाकोटीले पार्टीमा योग्य, इमान्दार र सक्षम युवा नेतृत्वलाई पाँच वर्ष निर्भिक भएर काम गर्ने अवसर प्रदान गर्नुपर्ने बताएका छन् ।

महामन्त्री बुर्लाकोटीले रास्वपा बागमती प्रदेशको प्रथम अधिवेशनको आज हेटौँडामा उद्घाटन गर्दै राजनीतिक नेतृत्वमा सक्षम व्यक्ति भए पार्टीमा कुनै समस्या उत्पन्न नहुने स्पष्ट पारे ।

उनले मुलुकमा बढ्दो कुशासन, भ्रष्टाचारजन्य अपराधलाई कानुनी एवं राजनीतिक नेतृत्वको भूमिकाबाट नियन्त्रण गर्न सबै तहमा इमान्दारीको खाँचो परेको बताए ।

महामन्त्री बुर्लाकोटीले विसं २०८४ मा हुने प्रदेशस्तर र स्थानीय तह निर्वाचनमा पार्टीका युवापुस्ताले निर्वाचनमा सहभागी हुन, जनप्रतिनिधिमा निर्वाचित हुन तथा जनताबीच पुगेर भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । उनले पार्टी स्थापना कालदेखि सक्रिय रहे पनि नेता र कार्यकर्ताबीच नेतृत्व तहमा क्षमता र इमान्दारी नभए रास्वपाले जिम्मेवारी नदिने जानकारी दिए ।

प्रतिनिधिसभाका सदस्यहरू खगेन्द्र सुनार, समीक्षा बाँस्कोटा र गणेश पराजुलीले मुलुकमा सुशासनको दीर्घकालीन लक्ष्य हासिल गर्न तथा जनतालाई विकास र आर्थिक समृद्धितर्फ आत्मनिर्भर बनाउन पार्टीले नवयुवाको योग्यता र क्षमतालाई निर्वाचनमार्फत अगाडि बढाउनुपर्नेमा जोड दिए ।

दुई दिनसम्म चल्ने प्रदेश अधिवेशनमा बागमती प्रदेशका १३ जिल्लामध्ये सिन्धुपाल्चोक बाहेक १२ जिल्लाका करिब एक हजार प्रतिनिधि र पर्यवेक्षकको सहभागिता रहेको रास्वपा मकवानपुरका अध्यक्ष सञ्जय पाठकले बताए ।

salt training

कमेन्ट गर्नुहोस्