
परराष्ट्रमन्त्री शिशिर खनाल चीन भ्रमणमा जाने भएका छन्। परराष्ट्र मन्त्रालयले भ्रमणको आन्तरिक तयारी भइरहेको जानकारी दिँदै भ्रमण तालिका छिट्टै सार्वजनिक गरिने जनाएको छ।
वर्तमान सरकार गठनपछि मन्त्री खनालले हालै भारतको तीनदिने औपचारिक भ्रमण सम्पन्न गरेका थिए। भारत भ्रमणलगत्तै उनको चीन भ्रमणको तयारी थालिएको हो।
मन्त्रालयमा बुधबार आयोजित सञ्चारकर्मीसँगको अन्तरक्रियामा मन्त्री खनालले राष्ट्रिय हितका विषयमा सरकार, राजनीतिक दल, राज्यका निकाय तथा सञ्चार क्षेत्रबीच समान धारणा आवश्यक रहेको बताए। उनले परराष्ट्र मामिलासम्बन्धी सूचना सम्प्रेषण गर्दा संवेदनशील हुन सञ्चारमाध्यमलाई आग्रह गरे।
सो अवसरमा उनले विदेशस्थित नेपाली नियोगमा आवश्यकताअनुसार जनशक्ति थप्ने र भौतिक पूर्वाधारको स्तरोन्नति गर्ने योजना रहेको जानकारी दिए। साथै परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानलाई सशक्त बनाउने, लुम्बिनी फेलोसिप कार्यक्रम सुरु गर्ने, भू–रणनीतिक सम्मेलन आयोजना गर्ने तथा राहदानीको बायोमेट्रिक प्रणालीमा देखिएका चुनौती समाधान गर्ने योजना पनि सार्वजनिक गरे।
मन्त्री खनालले आफ्नो हालैको भारत भ्रमण उपलब्धिमूलक रहेको उल्लेख गर्दै द्विपक्षीय हितका विविध विषयमा भारतीय समकक्षीसँग खुला र सौहार्दपूर्ण वार्ता भएको बताए।
कार्यक्रममा परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले आर्थिक समृद्धि र सुशासनका लागि मन्त्रालयले सरकारको प्रतिबद्धताअनुसार काम गरिरहेको बताए। मन्त्रालयका प्रवक्ता तथा सहसचिव लोकबहादुर पौडेल क्षेत्रीले मन्त्रालयका गतिविधिबारे जानकारी गराएका थिए।