
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेशको सभापतिमा पराजित भएपछि गोमा तामाङ (सरिन)ले राजनीतिबाट अलग हुने घोषणा गरेकी छन् ।
रास्वपा कोशीको प्रथम प्रादेशिक अधिवेशनबाट चन्द्र राई सभापतिमा निर्वाचित भएसँगै सरिनले राजनीतिबाट सन्यासको घोषणा गरेकी हुन् ।
निर्वाचनमा पराजय व्यहोरेपछि सरिनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, ‘आजबाट राजनीतिक बिट मारेँ । मतदाता सम्पूर्ण साथीहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु ।’
निर्वाचन समितिले घोषणा गरेको अन्तिम परिणाम अनुसार विजयी भएका चन्द्र राईले २८० मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी सरिन तामाङले १४१ मत मात्र प्राप्त गरिन् । यस्तै, अन्य दुई प्रत्यासीहरू खगेन्द्र कटुवालले ४१ र चन्द्र कुमार गौलीले २७ मत प्राप्त गरेका छन् ।

अधिवेशनमा कूल ७०२ मत खसेको थियो । रास्वपाभित्र सक्रिय नेतृका रूपमा चिनिएकी सरिनले चुनावी नतिजा सार्वजनिक भएलगत्तै अप्रत्यासित रूपमा राजनीति छाड्ने निर्णय लिएकी हुन् ।
उनी यसअघि कार्यवाहक सभापति थिइन् । गएको प्रतिनिधिसभा निर्वाचनमा उनी सुनसरी-१ मा हर्क साम्पाङसँग पराजित भएकी थिइन् ।