०२ असार २०८३, मंगलबार
सानो टापुको ठुलो गर्जन

विश्वकप डेब्युमै शक्तिशाली स्पेनलाई रोक्ने केप भर्डेका ४० वर्षे भोजिन्हा

असार २, २०८३
काठमाडौं
विश्वकप डेब्युमै शक्तिशाली स्पेनलाई रोक्ने केप भर्डेका ४० वर्षे भोजिन्हा

एटलान्टाको मर्सिडिज–बेन्ज रङ्गशालामा जब रेफ्रीको अन्तिम सिट्ठी बज्यो, तब क्यामराहरू सिधै केप भर्डेका ४० वर्षीय गोलरक्षक भोजिन्हातर्फ तेर्सिए । विश्वकपको सबैभन्दा बलियो दाबेदार एवं युरोपेली च्याम्पियन स्पेनलाई गोलरहित बराबरीमा रोक्दै आफ्नो देशका लागि ऐतिहासिक नतिजा दिलाएपछि उनको आँखाबाट आँसुका धारा बगिरहेका थिए । त्यो आँसुमा केवल खेलको खुसी मात्र थिएन, त्यसमा एउटा सिङ्गो देशको संघर्ष, व्यक्तिगत त्याग र इतिहास लेखिएको खुसी समाहित थियो ।

रंगशालामा उपस्थित ६७ हजार बढी दर्शकको बहुमत हिस्सा स्पेनका समर्थकजस्तो देखिए पनि ६० हजारभन्दा बढीको त्यो भीडमा केप भर्डेका केही हजार समर्थकहरूले सिर्जना गरेको ९० मिनेटको निरन्तर गर्जन र रौनकले एटलान्टालाई जुरुक्कै उचालेको थियो । निलो जर्सी लगाएका र रातो-सेतो तथा निलो झण्डा फहराइरहेका केप भर्डेका समर्थकहरू अंगालो हाल्दै, नाच्दै र गाउँदै यो अभूतपूर्व नतिजाको उत्सव मनाइरहेका थिए । मैदानमा खेलाडीहरू एकअर्कालाई समातेर खुसीले उफ्रिरहेका थिए भने तटस्थ दर्शकहरू समेत केप भर्डेको यो अदम्य साहसको जादुमा परिसकेका थिए ।

विश्वकपमा टोलीहरूको संख्या ३२ बाट बढाएर ४८ पुर्‍याउँदा प्रतियोगिताको गुणस्तर खस्कने भनी गरिएका सम्पूर्ण आलोचनाहरूलाई यो एउटा नतिजाले पूर्ण रूपमा खारेज गरिदिएको छ । अफ्रिकाको पश्चिमी तटबाट करिब ६०० किलोमिटर टाढा आन्ध्र महासागरमा अवस्थित सानो टापु राष्ट्र केप भर्डेले विश्व फुटबलको सबैभन्दा ठुलो मञ्चमा आफू हुनुको अर्थ र वजन प्रमाणित गरिदिएको छ ।

खेलको 'प्लेयर अफ द म्याच' घोषित भएपछि भावुक बनेका भोजिन्हाले सञ्चारकर्मीहरूसँग भने, 'म यसकारण रोएँ किनभने म मेरा हजुरबुबा र हजुरआमाको काखमा हुर्किएको थिएँ। दुर्भाग्यवश, यो ऐतिहासिक क्षण हेर्न उहाँहरू जीवित हुनुहुन्न, केही वर्षअघि नै उहाँहरूको निधन भयो। उहाँहरू मेरो जीवनको सर्वस्व हुनुहुन्थ्यो।'

null

उनले आफ्नो रोदनको अर्को कठिन पारिवारिक कारण पनि खोले। 'म मेरी आमालाई यहाँ मैदानमा देख्न चाहन्थेँ। तर भिसाका लागि चाहिने आवश्यक पैसा र प्रक्रिया समयमै जुटाउन नसकेका कारण उहाँ यहाँ आउन पाउनुभएन।' भोजिन्हाका अनुसार भिसा शुल्कबापत तिर्नुपर्ने रकमको अभाव र प्रक्रियागत ढिलाइले उनकी आमा छोराको यो ऐतिहासिक सफलताको प्रत्यक्ष साक्षी बन्नबाट वञ्चित भइन्। 'हाम्रो सबैभन्दा ठुलो हतियार भनेकै हाम्रो एकता हो,' भोजिन्हाले टोलीको शक्तिको रहस्य खोल्दै थपे, 'कुनै खेलाडी आजै टोलीमा भित्रिएको होस् वा कोही १०/१५ वर्षदेखि खेलिरहेको होस्, हामी सबैलाई परिवार जस्तै व्यवहार गर्छौँ। धेरैले सोचेका थिए कि हामी यहाँ विश्वकपको रमाइलो लिन मात्र आएका हौँ, तर होइन, हामी यहाँ हाम्रो देशको प्रतिष्ठाका लागि लड्न र प्रतिस्पर्धा गर्न आएका हौँ।'

'जोसिमार डियास'को नामले जन्मिएका भोजिन्हाका लागि यो क्षण जीवनभरको कठीन कसरत र धैर्यताको प्रतिफल हो। उनका बुबाले उनको नाम अर्जेन्टिना र रियल म्याड्रिडका महान् खेलाडी जर्ज भाल्डानोको नामबाट 'भाल्डानो' राख्न चाहेका थिए, तर केप भर्डेका अधिकारीहरूले अनुमति नदिएपछि उनको नाम सन् १९८६ को विश्वकपमा चम्किएका ब्राजिलियन डिफेन्डर जोसिमारको नाममा राखिएको थियो। आज दशकौँपछि तिनै भोजिन्हाले विश्वकपको पानामा आफ्नो छुट्टै इतिहास लेखेका छन्।

४० वर्ष र १२ दिनको उमेरमा विश्वकपको डेब्यु खेल खेल्दै उनी कुनै पनि देशको पहिलो विश्वकप खेलमा मैदान उत्रने इतिहासकै सबैभन्दा ज्येष्ठ खेलाडी बनेका छन्। उनले यसअघि कुराकाओका इलोय रूमले राखेको कीर्तिमानलाई समेत उछिनेका छन्। समग्र विश्वकपको इतिहासमा इजिप्टका एसाम एल हदरीपछि डेब्यु गर्ने उनी दोस्रो ज्येष्ठ खेलाडी हुन्।

null

'मैले २५ वर्षको उमेरमा अर्थात् सन् २०१२ मा मात्र व्यावसायिक फुटबल खेल्न शुरू गरेको थिएँ, जुन फुटबलरका लागि निकै ढिलो हो,' भोजिन्हाले आफ्नो सङ्घर्ष सम्झँदै भने, 'एक समय मैले राष्ट्रिय टोली छोड्ने सोचेको थिएँ, तर विश्वकप खेल्ने यही एउटा सपनाका कारण म टिकिरहेँ। यो अवार्ड मेरा सबै सहकर्मीहरूको हो, जस बिना यो असम्भव थियो ।'

सुन्दर तर भौगोलिक रूपमा पृथक र सीमित अवसर भएको केप भर्डेको मिन्डेलोमा हुर्कँदा उनले कद सानो भएकै कारण धेरै पटक उत्कृष्ट प्रदर्शन गर्दागर्दै पनि टोलीमा छनोट हुन पाएका थिएनन् । पछि अवसरको खोजीमा उनी पोर्चुगल हानिए, जहाँबाट उनको यात्रा स्लोभाकिया, अङ्गोला, मोल्डोभा र साइप्रस हुँदै अहिले पोर्चुगलकै दोस्रो डिभिजनको क्लब चाभेससम्म पुगेको छ।

युरोपेली च्याम्पियन स्पेन यो खेल जित्न पूर्ण रूपमा फेभरेट थियो र सट्टेबाजी बजारमा स्पेनको पक्षमा -१२०० को भारी दाबेदारी थियो । तर, स्पेनका फेरान टोरेस, पेड्री, आइमेरिक लापोर्टे र दोस्रो हाफमा मैदान छिरेका सनसनीपूर्ण युवा खेलाडी लामिन यमालजस्ता सुपरस्टारहरूको प्रहारलाई भोजिन्हा र केप भर्डेको रक्षापङ्क्तिले निस्तेज पारिदियो ।

खेलभरि भोजिन्हाले ७ वटा उत्कृष्ट र निर्णायक बचाउ गरे । विश्वकपको इतिहासमा ४० वर्षभन्दा माथिको उमेरमा योभन्दा बढी बचाउ गर्ने कीर्तिमान सन् १९८६ मा उत्तरी आयरल्यान्डका प्याट जेनिङ्सको नाममा मात्र छ । पहिलो हाफको अन्त्यतिर फेरान टोरेसको एउटा कडा प्रहार गोलपोस्टको बारमा ठोकिएर बाहिरिनु नै स्पेनका लागि गोलको सबैभन्दा नजिक पुगेको क्षण थियो । खेलको अन्तिमतिर केप भर्डेका डिने बोर्गेसले हेडमार्फत गोल गर्ने सुनौलो मौका पाएका थिए, तर स्पेनका किपर उनाई सिमोनले त्यसलाई बचाएपछि स्पेन ऐतिहासिक पराजयबाट जोगिएको थियो ।

खेलपछि स्पेनका प्रशिक्षक लुइस दे ला फुएन्टेले भने, 'हामीले सिर्जना गरेका अनुकूल अवसरहरू अनुसार यो खेल जित्नुपर्थ्यो, तर हामीमा गोल गर्ने तीक्ष्णताको कमी देखियो।' यद्यपि, उनले खेलअघि नै केप भर्डेले सरप्राइज दिन सक्ने चेतावनी दिएका थिए । यो नतिजासँगै विश्वकपमा ठुला जायन्टहरूलाई ढाल्ने क्यामरुन, सेनेगल र साउदी अरबको ऐतिहासिक सूचीमा अब केप भर्डेको नाम पनि सानका साथ थपिएको छ।
विश्वकपको यस संस्करणमा टोलीहरूको संख्या ४८ पुर्‍याइँदा केप भर्डेले पहिलो पटक पुरुष विश्वकप फुटबलमा छनोट भएर इतिहास रचेको हो । छनोट चरणको समूह ‘डी’ मा क्यामरुनजस्तो फुटबलको महाशक्ति टोलीलाई स्तब्ध पार्दै केप भर्डेले १० खेलबाट २३ अंक बटुलेर विश्वकपको टिकट काटेको थियो, जहाँ क्यामरुन १९ अंकमै सीमित हुन पुग्यो ।

null

भौगोलिक क्षेत्रफलका आधारमा केप भर्डे पुरुष विश्वकप फुटबलको इतिहासमै छनोट हुने सबैभन्दा सानो राष्ट्र हो । यसको कुल क्षेत्रफल केवल चार हजार ३३ वर्गकिलोमिटर मात्र रहेको छ।

त्यस्तै, जनसंख्याको आधारमा केप भर्डे विश्वकप खेल्ने इतिहासकै दोस्रो सानो राष्ट्र बनेको छ । विश्व बैंकको पछिल्लो प्रतिवेदन अनुसार केप भर्डेको कुल जनसंख्या केवल पाँच लाख २४ हजार आठ सय ७७ (करिब साढे पाँच लाख) रहेको छ। जनसंख्याका आधारमा विश्वकप खेल्ने सबैभन्दा सानो राष्ट्रको कीर्तिमान भने आइसल्यान्डको नाममा छ, जसले सन् २०११८ को विश्वकप खेलेको थियो।

एउटा सानो टापु देश, जसको कुल आकार बेलायतको शेफिल्ड सहरभन्दा ठुलो छैन, त्यसले विश्व फुटबलको महाशक्ति स्पेनलाई अंक बाँड्न बाध्य पारिदिएको छ । खेल सकिएपछि पनि मर्सिडिज–बेन्ज रंगशालाको भित्री कोरिडोरहरूमा केप भर्डेका समर्थकहरूको नाचगान र उत्सव रोकिएको थिएन । 

यो ऐतिहासिक र उत्साहजनक बराबरीपछि अब समूह चरणको आगामी खेलमा सन् २०१० को विश्वविजेता स्पेनले आइतबार साउदी अरबको सामना गर्नेछ भने केप भर्डेले अर्को बलियो टोली उरुग्वेविरुद्ध मैदान उत्रिएर आफ्नो अर्को कठीन र रोचक कूटनीतिक यात्रा तय गर्नेछ। अन्तर्राष्टरिय सञ्चार माध्यमहरूको सहयोगमा

salt training

कमेन्ट गर्नुहोस्