
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेपाली राजनीतिमा वैकल्पिक शक्तिका रूपमा उदाएको बताएका छन् ।
रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै उनले छोटो समयमै आन्दोलनको परम्परागत बाटो नअपनाई जनताको मन जितेर रास्वपाले ऐतिहासिक सफलता हासिल गरेको टिप्पणी गरे ।
भट्टराईले चार वर्षभित्रै रास्वपाले हासिल गरेको उपलब्धिलाई नेपाली राजनीतिको ‘नयाँ कडी’का रूपमा लिनुपर्ने बताए । 'आन्दोलन नगरी जनताको मन जितेर रास्वपाले ऐतिहासिक सफलता हासिल गरेको छ । यसलाई नेपाली राजनीतिको नयाँ कडीका रूपमा लिनुपर्छ,' उनले भने ।
उनले रास्वपालाई आफूले लामो समयदेखि खोजेको वैकल्पिक राजनीतिको नयाँ स्वरूपका रूपमा हेरेको बताए । 'मैले पनि वैकल्पिक राजनीतिको प्रयोग गरेको थिएँ, अहिले रास्वपालाई वैकल्पिक राजनीतिको रूपमा देखेको छु,' उनले भने ।
समाज परिवर्तनका वाहकहरू अवरोध र षड्यन्त्रका ज्वारभाटा चिरेर अघि बढ्ने उल्लेख गर्दै भट्टराईले रास्वपालाई पनि त्यही आत्मविश्वासका साथ अघि बढ्न आग्रह गरे । 'कन्स्पिरेसी थ्योरीको कथा बुन्नेहरू सधैं हुन्छन्, तर समाज बदल्नेहरू ज्वारभाटा तोडेर अगाडि बढ्छन्,' उनले भने ।
आफ्नो उमेरमा कुनै ‘ललिपप’ नचाहिने भन्दै उनले रास्वपाले सुशासन र समृद्धिलाई मूल लक्ष्य बनाउनुपर्नेमा जोड दिए । 'सुशासन र समृद्धिको फल सबै नेपालीले प्राप्त गर्नुपर्छ,' उनले भने ।
नेपालको राजनीतिक विकासक्रमबारे चर्चा गर्दै भट्टराईले लोकतान्त्रिक पुस्ताको शुरूआत बीपी कोइराला र टंकप्रसाद आचार्यहरूले गरेको, त्यसपछिको पुस्ताले गणतन्त्र र संविधानसम्म देशलाई पुर्याएको बताए । अबको जिम्मेवारी नयाँ पुस्ताको काँधमा आएको उनको भनाइ थियो । 'हाम्रो पुस्ताले गणतन्त्र र संविधानसम्म देशलाई पुर्यायो । अब रवि र बालेन पुस्ताले सुशासन र समृद्धितर्फ देशलाई अघि बढाओस्,' उनले भने ।
भट्टराईले राज्यका अंगहरू भ्रष्टाचारले जर्जर बनेको टिप्पणी गर्दै रास्वपाले पाएको जनमतको मुख्य मर्म सुशासन नै भएको बताए । 'म ५० लाखको पुरस्कार टाउकामा थापिसकेको मान्छे हुँ, राज्यका अंगहरू कति भ्रष्टाचारमा जर्जर छन् भन्ने मैले भोगेको छु,' उनले भने, 'तपाईंहरूलाई जनताले दिएको मत पनि सुशासनकै निम्ति हो ।'
उनले रास्वपाले अब चुनाव चिह्नको लोकप्रियताभन्दा माथि उठेर सुशासन र विकासको परिणाम देखाउनुपर्ने बताए । 'अब चुपचाप घण्टी छाप होइन, चुपचाप सुशासन र विकासतर्फ अपग्रेड गर्नुस्,' उनले भने ।
विदेशमा रहेका नेपालीहरूको योगदान पनि परिवर्तनका लागि महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले विश्वका १७० भन्दा बढी देशमा छरिएका नेपालीहरूको साथ रास्वपालाई प्राप्त भएको बताए ।
भट्टराईले महाधिवेशनको मुख्य काम पार्टीको विचार, नीति र कार्यक्रमलाई स्पष्ट बनाउनुका साथै नेतृत्व चयन गर्नु भएको बताए । उनले रास्वपाभित्र नेतृत्वमा एकता कायम राख्नुपर्नेमा विशेष जोड दिए । 'महाधिवेशन भनेको विचार, नीति र कार्यक्रमलाई स्पष्टता दिने र नेतृत्व चयन गर्ने ठाउँ हो,' उनले भने, 'नेतृत्वमा रवि र बालेनजीबीच सर्वसम्मति कायम रहोस् भन्ने मेरो चाहना छ ।'
रास्वपाभित्र वैचारिक स्पष्टता अझै आवश्यक रहेको उल्लेख गर्दै उनले पार्टीले अघि सारेको ‘संवैधानिक समाजवाद’को थप व्याख्या आवश्यक रहेको बताए । 'वैचारिक अस्पष्टता छन्, संवैधानिक समाजवादलाई अझ प्रस्टसँग व्याख्या गर्नुपर्छ,' उनले भने ।
ठूलो जनमत पाएको नेतृत्वले कम्तीमा पाँच वर्षसम्म स्थायित्वका साथ काम गर्नुपर्ने बताउँदै भट्टराईले रास्वपाभित्र वा बाहिरबाट नेतृत्वबीच दूरी बढाउने खेल हुनसक्ने भन्दै त्यसप्रति सचेत रहन आग्रह गरे । 'अरू आसेपासे र बाहिरकाले रवि ठूलो कि बालेन ठूलो भनेर चलखेल गर्न सक्छन्,' उनले भने, 'तर तपाईंहरूको एकता नै पाँच वर्षको भविष्य सुनिश्चित गर्ने आधार हो ।'
उनले सरकारमा रहेका केही नेताहरूले सकारात्मक संकेत देखाएको पनि बताए । आफ्ना जिल्लाका नेता सुधन गुरुङले देखाएको आँटको प्रशंसा गर्दै उनले राम्रो काम गर्नेलाई विवादमा तान्ने प्रयास भइरहेको टिप्पणी गरे ।
भट्टराईले आफ्नो पुस्ताका केही मानिसहरू अझै पनि षड्यन्त्र र तानाबाना बुन्ने काममा लागेको टिप्पणी गर्दै त्यस्ता गतिविधिलाई मुख्य विषय नबनाउन आग्रह गरे । सम्बोधनका क्रममा उनले अकबर–वीरबलको कथा सुनाउँदै राजनीतिक चलखेलभन्दा लक्ष्य, विचार र काममा केन्द्रित हुनुपर्ने सन्देश दिएका थिए ।