१६ असार २०८३, मंगलबार

‘प्रहरी हौं’ भन्दै हतकडी लगाएर साढे १० लाख लुटपाट, ४ जना पक्राउ

असार १६, २०८३
काठमाडौं
‘प्रहरी हौं’ भन्दै हतकडी लगाएर साढे १० लाख लुटपाट, ४ जना पक्राउ

जग्गा खरिद गर्ने बहानामा एक व्यक्तिलाई काठमाडौं बोलाएर विभिन्न धाकधम्की दिई हतकडी लगाएर नगद, मोबाइल र बैंकका खाली चेक डकैटी गरेको घटनामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

यही असार ९ गते राति करिब ११ बजे सिन्धुलीको घ्याङलेख गाउँपालिका–५ घर भई काठमाडौं महानगरपालिका–१६ वनस्थली बस्ने ४६ वर्षीय शेरबहादुर मोक्तानको कोठामा उक्त घटना भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।

उनका अनुसार शेरबहादुर मोक्तानका चिनजानका साथी सर्लाहीको लालबन्दी नगरपालिका–८ खतिवडा चोक बस्ने ४३ वर्षीय धनबहादुर मोक्तान जग्गा खरिद गर्ने भन्दै काठमाडौं आएका थिए ।

त्यसक्रममा ५/६ जनाको समूहमा आएका व्यक्तिहरूले आफूहरू प्रहरी भएको भन्दै डर–त्रास देखाई धाकधम्की दिँदै धनबहादुर मोक्तानलाई नियन्त्रणमा लिई उनीसँग रहेको १० लाख ५५ हजार, मोबाइल फोन र सिद्धार्थ बैंकका खाली चेकहरू डाँका चोरी गरी फरार भएका थिए।

घटनापछि फरार व्यक्तिहरूको खोजतलास गर्ने क्रममा प्रहरीले असार १४ गते काठमाडौंका विभिन्न स्थानबाट चार जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका–१ घर भई काठमाडौं धापासी बस्ने राम शरण दमाईं, टोखा बस्ने सविन खवास, पर्सा ठोरी घर भएर गोंगबु बस्ने लक्ष्मी गोले र सिन्धुलीको घ्याङलेख गाउँपालिका–५ घर भई काठमाडौं महानगरपालिका–१६ वनस्थली बस्ने शेरबहादुर मोक्तान छन् ।

पक्राउ परेकामाथि चोरी तथा डाँकासम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई प्रहरी वृत्त बालाजुबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

salt training

कमेन्ट गर्नुहोस्