
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा देखिएका कमी–कमजोरी सुधारेर अघि बढ्ने बताएका छन्।
पोखरामा बुधबार आयोजित गण्डकी प्रदेशको एकता बैठक तथा प्रशिक्षण कार्यक्रममा उनले प्रदेश, जिल्ला, पालिका र वडातहसम्म संगठन विस्तार गर्दै महाधिवेशनसम्म पार्टीलाई नयाँ उचाइमा पुर्याउने अठोट व्यक्त गरे।
दाहालले भने, “हामीले यो पटक असाधारण परिघटनाको सामना गर्नुपरेको छ। तर हामी ध्वस्त भइसकेका छैनौँ। सबैभन्दा पहिला आफ्नो कमजोरी सुधार्ने विषयलाई उच्च प्राथमिकताका साथ लिनुपर्छ। विगतमा जस्तै राष्ट्रिय स्वाधीनता र वर्गीय हितका निम्ति जस्तोसुकै त्याग गर्ने सङ्कल्प गरेमा हामी यहीँबाट सुधारिनेछौँ र पार्टीलाई नयाँ उचाइमा लैजान सम्भव हुनेछ।”
उनले आगामी महाधिवेशन नेतृत्व चयनमा मात्र केन्द्रित नभई वैचारिक र संगठनात्मक रूपमा क्रमभंग गर्ने गरी अघि बढ्ने बताए।
“पार्टीको नेतृत्व र विचार निर्माण गर्दा नयाँ रणनीति र कार्यनीतिसहित विचारको विकास गर्नेछौँ। हामी अब अर्को क्रान्तिको सुरुआत गरेर मात्र विश्राम लिनेछौँ,” उनले भने।
पार्टीका सहसंयोजक माधवकुमार नेपालले तत्काल कम्युनिष्ट पार्टीहरूबीच एकता सम्भव नरहेको बताए। राष्ट्रियतामाथि संकट आउने अवस्था देखिएकाले वामपन्थी दलहरूबीच सहकार्य हुन सक्ने उनको भनाइ थियो।
“पहिला आफ्नो पार्टी बलियो बनाउन लाग्नुहोस्। पार्टी ठूलो र बलियो भयो भने मात्र एकताको आशा जाग्छ। तत्कालै कम्युनिष्ट पार्टीबीच एकता हुँदैन,” नेपालले भने।
उनले ठूलो पार्टी कमिटी नबनाउन आग्रह गर्दै गाउँगाउँमा पार्टीलाई स्थापित बनाउन कार्यकर्तालाई निर्देशन दिए।
कार्यक्रममा पार्टीका नेता नारायणकाजी श्रेष्ठ, देव गुरुङ, हितराज पाण्डे, गण्डकी प्रदेश इञ्चार्ज देवेन्द्र पौडेल, सहइञ्चार्ज श्रीनाथ बराल, केन्द्रीय सदस्य ज्ञानु आचार्य, शिव बास्तोला, प्रदेश संयोजक कृष्ण नेपाली र सहसंयोजक गायत्री गुरुङलगायतले तल्लो तहसम्म पार्टी एकतालाई छिट्टै पूर्णता दिएर जनताको बीचमा जान सके पार्टीप्रतिको आकर्षण बढ्ने धारणा राखे।
कार्यक्रममा गण्डकी प्रदेशका ११ वटै जिल्लाका संयोजकहरूले चुनावी समीक्षा तथा एकता प्रक्रियाबारे प्रतिवेदन प्रस्तुत गरेका थिए।