
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भइरहेको कूटनीतिक वार्तामा 'सकारात्मक' प्रगति भइरहेको दाबी गरेका छन्। बुधबार नर्थ डकोटा प्रस्थान गर्नुअघि पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले कतारमा हालै भएका बैठकहरू फलदायी रहेको र इरानको परमाणु कार्यक्रम घटाउने दिशामा भइरहेका प्रयासहरू सही मार्गमा अगाडि बढेको बताए।
दुवै पक्षबीच निकै राम्रा बैठकहरू सम्पन्न भएको उल्लेख गर्दै ट्रम्पले भने, 'वार्ता सकारात्मक छ, तर आगामी दिनमा के हुन्छ त्यो हेर्न बाँकी नै छ।' उनले अमेरिकाले इरानमाथि कडा दबाब कायम राखेको भए तापनि वार्ताको ढोका र प्रक्रियालाई निरन्तरता दिइएको स्पष्ट पारे।
इरान र अमेरिकाबीच कतारको राजधानी दोहामा अप्रत्यक्ष प्राविधिक वार्ता चलिरहेको छ। वार्तामा कतार र पाकिस्तानले मध्यस्थकर्ताको भूमिका खेलिरहेका छन् । अमेरिका र इजरायलको आक्रमणमा आफ्ना सर्वोच्च नेता गुमाएपछि पनि इरान वार्तामा बस्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । यद्यपि, इरानले आफ्नो परमाणु कार्यक्रम विशुद्ध रूपमा शान्तिपूर्ण उद्देश्यका लागि मात्रै भएको दाबी लगातार दोहोर्याउँदै आएको छ।