१९ असार २०८३, शुक्रबार

५ वर्ष कैद तोकिएको भोलिपल्टै पक्राउ परे एमालेका पूर्वसांसद कोइरी

असार १८, २०८३
काठमाडौं
५ वर्ष कैद तोकिएको भोलिपल्टै पक्राउ परे एमालेका पूर्वसांसद कोइरी

सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा ५ वर्षको कैद सजाय तोकिएको भोलिपल्टै एमाले नेता एवं पूर्वसांद लक्ष्मी महतो (कोइरी) पक्राउ परेका छन् ।

उनलाई महोत्तरी प्रहरीले बिहीबार बेलुका महोत्तरीको गौशालाबाट पक्राउ गरेको डीएसपी पञ्चलाल गोलेले जानकारी दिए ।

फैसला कार्यान्वयनका लागि उनलाई पक्राउ गरिएको डीएसपी गोलेले बताए । 

महतोको घर गौशालाको निगौल हो ।

उच्च अदालत जनकपुरले जिल्लाको फैसला उल्ट्याउँदै बुधबार कोइरीलाई ५ वर्षको कैद सजाय सुनाएको थियो । यसअघि जिल्ला अदालतले उनलाई सफाइ दिएको थियो । 

उच्च अदालतले कोइरीसहित ६ जनालाई ५ वर्षको कैद सजाय सुनाएको थियो । 

कामु मुख्य न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले बुधबार गरेको फैसलाअनुसार जिल्ला अदालतबाट सफाइ पाएका अभियुक्त अभिषेक शर्मा, धर्मेन्द्र राय, रामशंकर मिश्र, सुरेश पाण्डे, लक्ष्मी महतो र पवन कापरलाई जनही पाँच वर्ष कैद सजाय निर्धारण गरिएको थियो । 

यसैगरी, प्रदीप साह माझी, सञ्जयकुमार साह र मोहन ठाकुरलाई कर्तव्य ज्यानसम्बन्धी कसुरमा दोषी ठहर गर्दै मुलुकी ऐन, ज्यान सम्बन्धी महलको दफा १३(३) बमोजिम जन्मकैद हुने फैसलालाई सदर गरेको छ । 

यसअघि महोत्तरी जिल्ला अदालतले २०८० मंसिर २८ गते उनीहरूलाई दिएको जन्मकैदको फैसला उच्च अदालतले सदर गरेको छ ।

२०७२ भदौ २५ गते डिउटीमा खटिएका सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विकको हत्या भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्