
बिहीबार कर्णाली नदीमा खसेको यात्रुवाहक फोर्स गाडी र यात्रुको खोजी गर्न सशस्त्र प्रहरी बल नेपाल नं ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतका छ जना गोताखोर आज बिहान ८ बजेदेखि पुनःपरिचालन भएका छन् ।
बिहान ८ बजे सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको क प्र ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी ११:३० बजेको समयमा चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ दैलेखको साङ्गेतडास्थित दुर्घटनाग्रस्त भई कर्णाली नदीमा खसेको थियो ।
बिहीबार पाँच घण्टासम्म गोताखोरले खोजी गर्दा नभेटाएपछि आज पुनः खोजी गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब महानिरीक्षक जयराज सापकोटाले जानकारी दिए ।
उनले भने, 'जलसतह मात्र बढेको छैन, नदीको बेग पनि त्यत्तिकै तीव्र छ । पानी धमिलो छ । घटनास्थलमा सिधै जाने ठाउँ छैन । अछाम जिल्लाबाट खोज्नुपरेको छ । अचेत अवस्थाम भिरमा अड्केका एक जना पुरुषको उद्धार गरी अस्पताल पुर्याउँदै गर्दा मृत्यु भएको छ । मृतकको ठेगाना खुल्न सकेको छैन ।'
खोजीका लागि जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक श्रवण विकसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेना घटनास्थलमा परिचालन गरिएको छ ।
सुर्खेत बसपार्कबाट बिहान ८ बजे गाडी छुट्दा तीन र दैलेखको डुङ्गेश्वरबाट दुई, चालक र सहचालक गरी अहिलेसम्म आधिकारिक सात व्यक्ति गाडीमा सवार रहेको प्रहरीले जनाएको छ ।
गाडी ४०० मिटर तल खसी कर्णाली नदीमा डुबेको स्थान प्रहरीचौकी दैलेखबाट तीन किलोमिटर उत्तरतर्फ र जिप्रका दैलेखबाट ५० किलोमिटर पश्चिमतर्फ रहेको छ ।