२४ असार २०८३, बुधबार
सरसर्ती २४ घण्टा

क्रियाशील सदस्यता वितरणको म्याद थप गर्ने कांग्रेसको निर्णयदेखि एनपीएल अक्सनमा १५५ जना खेलाडीसम्म

असार २२, २०८३
काठमाडौं
क्रियाशील सदस्यता वितरणको म्याद थप गर्ने कांग्रेसको निर्णयदेखि एनपीएल अक्सनमा १५५ जना खेलाडीसम्म

'लोकान्तर राउण्ड अप'मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ-

फिफा विश्वकप २०२६ मा नर्वेले पाँच पटकको विश्व विजेता ब्राजिललाई २-१ गोल अन्तरले पराजित गरेको छ।

सोमबार बिहान न्यु जर्सी स्टेडियममा सम्पन्न अन्तिम १६ को खेलमा जित निकाल्दै नर्वे इतिहासमै पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको हो।

नर्वेको यो ऐतिहासिक जितमा स्टार स्ट्राइकर एर्लिङ हालान्ड नायक बने । उनले खेलको ७९ औं र ९० औं मिनेटमा दुई सानदार गोल गरे। पहिलो गोल ७९ औं मिनेटमा आन्द्रियास सेल्डरपको क्रसमा हेडरमार्फत गरेका हालान्डले दोस्रो गोल ९० औं मिनेटमा पेनाल्टी बक्स बाहिरबाट शक्तिशाली प्रहारमार्फत गरेका थिए।

००००

ब्राजिलका लिजेन्ड्री फरवार्ड नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्याँस घोषणा गरेका छन् । विश्वकपको अन्तिम १६ को खेलमा नर्वेसँग २-१ ले पराजित भएसँगै ३४ वर्षीय स्टारले संन्न्यास घोषणा गरेका हुन् ।

००००

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सोमबार काठमाडौँमा खेलाडीको अक्सन हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले अक्सनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।

क्यानका अनुसार अक्सनका लागि कुल १५५ जना खेलाडीहरूलाई अन्तिम सूचीमा समावेश गरिएको छ। यसअघि नाम दर्ता गराएका ३४७ जनामध्येबाट १५५ जना खेलाडीहरू अक्सनको 'सर्टलिस्ट' मा परेका हुन्। जसमा क्याटेगोरी 'ए' मा ५ जना, क्याटेगोरी 'बी' मा २७ जना र क्याटेगोरी 'सी' मा १२३ जना खेलाडीहरू रहेका छन्।

००००

गृहमन्त्री सुदन गुरुङले विराटनगरस्थित कोशी अस्पतालको अतिक्रमित जग्गा सात दिनभित्र खाली गर्न निर्देशन दिएका छन् ।

आइतबार अस्पतालको स्थलगत अनुगमन गर्दै गृहमन्त्री गुरुङले अस्पतालको जग्गा कब्जा गरेर सञ्चालन भइरहेका संघसंस्था र पसललाई सात दिनभित्र खाली गर्न अल्टिमेटम दिएका हुन् ।

००००

नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण तथा नवीकरणको समयसीमा साउन ३ गतेसम्म थप गरेको छ।

महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा बसेको बैठकले वर्षा यामका कारण सदस्यतासम्बन्धी प्रक्रिया पूरा हुन बाँकी रहेकाले साउन ३ गतेसम्म बढाउने निर्णय गरेको हो।

००००

सरकारले पूर्वाधार विकासका लागि लगानी परिचालन गर्न एउटा शक्तिशाली र स्वायत्त ‘वैकल्पिक विकास वित्त कोष’को स्थापना गर्ने तयारी गरेको छ ।

नेपालका ठूला तथा रूपान्तरणकारी पूर्वाधार आयोजनाहरूमा आन्तरिक र बाह्य लगानी सहज ढंगले परिचालन गर्नका लागि संघीय संसद्‌बाट पारित भएको 'वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८३'ले उक्त बाटो खोलेको हो ।

००००

कृषि, वन तथा पर्यावरण मातहतको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का दुई कर्मचारी बर्खास्त भएका छन् ।​​​​

नार्कका अध्यक्षसमेत रहेकी कृषिमन्त्री गीता चौधरीले लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका दुई कर्मचारीलाई सेवाबाट हटाएकी उनको सचिवालयले जनाएको छ ।

००००

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापाले बालेन नेतृत्वको सरकारको कार्यशैली ०७४ सालका केपी ओलीको जस्तो भएको टिप्पणी गरेका छन् । त्यो बेला प्रधानमन्त्रीले प्रक्रिया मिचेर नतिजाको कुरा गर्दा दुर्घटना निम्तिएको उनले स्मरण गरे ।

सरकारका सय दिनको समीक्षा सम्बन्धमा कांग्रेस पार्टी कार्यालयमा आयोजित छलफलमा सभापति थापाले बालेन सरकारको कार्यशैली ०७४ सालको नयाँ संस्करण भएको टिप्पणी गरेका हुन् ।

००००

प्रहरी प्रधान कार्यालयले यसै साता जारी गरेको एउटा परिपत्रले ७७ वटै जिल्ला प्रहरी कार्यालयमा खैलाबैला मच्चिएको छ ।

काजमा काम गरिरहेका प्रहरीलाई सम्बन्धित दरबन्दीमै रमाना गर्न भनिएपछि संगठनभित्र तरंग उत्पन्न भएको हो ।

प्रदेश प्रहरी प्रमुख, तालिम केन्द्रदेखि गण हुँदै जिल्ला प्रहरी कार्यालयका प्रमुखसम्मलाई सम्बोधन गर्दै जारी गरिएको परिपत्रमा ‘सम्बन्धित दरबन्दी भएका प्रहरीलाई रमाना नगरे तपाईँलाई किन कारबाही नगर्ने ?’ भन्दै स्पष्टीकरण समेत मागिएको छ ।

००००

पछिल्लो समय निजामती सेवामा राजीनामा दिने कर्मचारीको संख्या बढेसँगै ई-पेन्सन सेवामा चाप बढेको छ ।

यसै सन्दर्भमा, आर्थिक वर्षको समाप्ति नजिकिँदै गर्दा राष्ट्रिय किताबखाना (निजामती)ले ई-पेन्सन सेवाको फर्स्यौट हुन बाँकी सम्पूर्ण आवेदनहरूलाई शून्यमा झार्ने उद्देश्यले आइतबार एक दिवसीय विशेष अभियान सञ्चालन गरेको छ ।

राष्ट्रिय किताबखानाका महानिर्देशक श्रवणकुमार पोखरेलका अनुसार ‘शून्य बाँकी ई-पेन्सन आवेदन’ नाम दिइएको अभियानअन्तर्गत आइतबार सार्वजनिक बिदाका दिनसमेत ७ जना कर्मचारीको विशेष टोलीले काम गरिरहेको छ ।

००००

नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।

गत शुक्रबारको तुलनामा सुन तोलामा ४०० र चाँदी १० रूपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला दुई लाख ९० हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ६०५ कायम भएको छ ।

००००

सशस्त्र प्रहरी बलले सञ्चालन गर्दै आएको कीर्तिपुरस्थित विद्यालयको करिब ११ करोड रूपैयाँ अपचलन प्रकरणमा लेखा अधिकृत रहेकी इन्स्पेक्टर कल्पना गुरुङ र उनका निकटस्थ लीला लामा पक्राउ परेका छन् ।

सशस्त्र प्रहरीको आन्तरिक छानबिन प्रतिवेदनका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंले शनिबार दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्