२७ असार २०८३, शनिबार

भारतमा स्टिलको खपत ८.३ प्रतिशतले बढ्यो

असार २५, २०८३
काठमाडौं
भारतमा स्टिलको खपत ८.३ प्रतिशतले बढ्यो

भारतको स्टिल (इस्पात) क्षेत्रले चालु आर्थिक वर्ष २०२६/२७ को पहिलो त्रैमासिकमा चौतर्फी वृद्धि हासिल गरेको छ । उत्पादनको तुलनामा तयारी स्टिल (फिनिस्ड स्टिल) को खपत तीव्र गतिमा बढेको हो । भारत तयारी स्टिलको खुद आयातकर्ताकै रूपमा रहेको छ । भारतीय स्टिल मन्त्रालयले सोमबार सार्वजनिक गरेको पछिल्लो प्रारम्भिक तथ्यांकले यस्तो देखाएको हो ।

मन्त्रालयको तथ्यांकअनुसार अप्रिल-जुन २०२६ को अवधिमा तयारी स्टिलको खपत वार्षिक रूपमा ८.३ प्रतिशतले बढेर ४ करोड १६ लाख टन पुगेको छ । यो वृद्धि उत्पादनको तुलनामा बढी हो । सोही अवधिमा तयारी स्टिलको उत्पादन ५.९ प्रतिशतले बढेर ४ करोड १० लाख टन पुगेको छ, जसले भारतीय बजारमा आन्तरिक माग अझै बलियो रहेको सङ्केत गर्छ।

मासिक आधारमा हेर्दा, जुन महिनामा मात्रै तयारी स्टिलको खपत वार्षिक रूपमा ७.२ प्रतिशतले बढेर १ करोड ४२ लाख टन पुगेको छ भने उत्पादन ६ प्रतिशतले बढेर १ करोड ३८ लाख टन पुगेको छ। आर्थिक वर्ष २०२६ को पहिलो त्रैमासिकमा उत्पादन र खपतका प्रमुख सूचकहरूमा सुधार आएको समाचारमा उल्लेख छ । 

यसै गरी 'क्रुड स्टिल'को उत्पादन पनि वृद्धितर्फ नै अग्रसर छ । अप्रिल-जुन त्रैमासिकमा कच्चा स्टिलको उत्पादन वार्षिक रूपमा ३ प्रतिशतले बढेर ४ करोड २१ लाख टन पुगेको छ भने जुन महिनामा मात्रै यसको उत्पादन ३.९ प्रतिशतले बढेर १ करोड ४१ लाख टन पुगेको छ।

सार्वजनिक तथ्याङ्कले आन्तरिक माग धान्न भारत अझै पनि आयातमा निर्भर रहेको स्पष्ट पारेको छ। 

कमेन्ट गर्नुहोस्