२७ असार २०८३, शनिबार

यूएईमा पढ्न पठाउने नाममा भएको ठगीको पर्दाफास, ९ जना पक्राउ

असार २६, २०८३
काठमाडौं
यूएईमा पढ्न पठाउने नाममा भएको ठगीको पर्दाफास, ९ जना पक्राउ

 वैदेशिक अध्ययनका लागि संयुक्त अरब इमिरेट्स (यूएई) पठाउने नाममा नेपाली विद्यार्थीहरूलाई ठगी गरेको आरोपमा ९ जना कन्सल्टेन्सी सञ्चालकहरू पक्राउ परेका छन्।

 नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले काठमाडौँका विभिन्न स्थानमा सञ्चालित कन्सल्टेन्सीहरूले विद्यार्थीहरूलाई भ्रममा पारी ठगी गरिरहेको उजुरीका आधारमा उनीहरूलाई शुक्रबार पक्राउ गरेको हो।

सीआईबीका अनुसार पक्राउ परेका सञ्चालकहरूले विद्यार्थीहरूलाई यूएईका आधिकारिक र उच्च शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त कलेजहरूमा अध्ययन गराउने भनी झुक्याएका थिए। तर, उनीहरूले आधिकारिक स्वीकृति नलिइएका कलेजहरूमा भर्ना गराई ती कलेजहरूबाट फ्रान्स र अस्ट्रेलिया लगायतका मुलुकमा 'क्रेडिट ट्रान्सफर' समेत हुने भनी झुट्टा आश्वासन दिएर मोटो रकम ठगी गरेको पाइएको छ।
पक्राउ पर्नेहरूमा डिल्लीबजारस्थित एडुपोर्ट प्रा.लि.का सञ्चालकहरू ४० वर्षीय रूपक कोइराला, ३७ वर्षीय राजेश भण्डारी र ३७ वर्षीय सन्तोष खतिवडा रहेका छन्। 

त्यस्तै, पुतलीसडकस्थित वेस्टफोर्ड एजुकेसन प्रा.लि.का सञ्चालक चिन्टु श्रेष्ठ (सोनी श्रेष्ठ) र नयाँ बानेश्वरस्थित प्रोप एभिएसन प्रा.लि.का सञ्चालकहरू ३८ वर्षीय सुरेन्द्र महर्जन, ३५ वर्षीय दिवस पोखरेल, २६ वर्षीय मनित आचार्य र ३९ वर्षीय शेखर पाण्डेलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। कालीमाटीस्थित एस्पायर ग्लोबल प्रा.लि.का सञ्चालक २७ वर्षीय विशाल चापागाईं पनि पक्राउ परेका छन्।
काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिई ब्यूरोको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेका सबै सञ्चालकहरूलाई मुलुकी अपराध संहिता, २०७४ बमोजिम ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान तथा कारबाही प्रक्रिया अगाडि बढाइएको सीआईबीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर ज.ब.रा.ले जानकारी दिए । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्