
फिफा विश्वकप २०२६ को दोस्रो क्वाटरफाइनल खेलमा इङ्गल्याण्ड र नर्वेबीचको पहिलो हाफ रोमाञ्चक १–१ को बराबरीमा सकिएको छ।
आइतबार बिहान मियामी स्टेडियममा जारी खेलमा सुरुवाती अग्रता नर्वेले लिए पनि जुड बेलिङ्घमले इन्जुरी समयमा गोल गर्दै इङ्गल्याण्डलाई बराबरीमा ल्याएका हुन्।
खेलको ३६ औं मिनेटमा आन्द्रेअस सेल्डरुपले नर्वेका लागि पहिलो गोल गर्दै सनसनी मच्चाएका थिए । कप्तान मार्टिन ओडेगार्डको पासमा सेल्डरुपले मैदानको कठिन कोणबाट गरेको प्रहार सिधै गोलमा परिणत भएको थियो। उक्त गोल हुनुअघि इङ्गल्याण्डका कप्तान ह्यारी केनलाई लडाएको भन्दै इङ्गल्याण्डका खेलाडीहरूले फाउलको माग गरे पनि रेफ्रीले त्यसलाई मान्यता दिएनन्।
गोलकिपर जोर्डन पिकफोर्डले बलको दिशा ठम्याउन नसक्दा इङ्गल्याण्डले पछि पर्नु परेको थियो।
अग्रता लिएपछि नर्वेले इङ्गल्याण्डमाथि निरन्तर दबाब सिर्जना गरेको थियो। नर्वेका अलेक्जेन्डर सोर्लोथले गोल गर्ने केही राम्रा अवसरहरू पाए पनि त्यसलाई सदुपयोग गर्न सकेनन्। विशेषगरी खेलको ४४औं मिनेटमा सोर्लोथले अर्लिङ हालान्डलाई पास दिनुको सट्टा आफैं प्रहार गर्दा इङ्गल्याण्डको संकट टरेको थियो। डिफेन्डर जोन स्टोन्सको गल्तीका कारण हालान्डले गोल गर्ने मौका पाए पनि पिकफोर्डले उत्कृष्ट बचाउ गर्दै टोलीलाई थप क्षति हुनबाट जोगाएका थिए।
तर, पहिलो हाफको अतिरिक्त समयको दोस्रो मिनेटमा जुड बेलिङ्घमले इङ्गल्याण्डका लागि गोल गरे।
इलियट एन्डरसनको मुभमा एन्थोनी गोर्डनले डिब्बा भित्र उपलब्ध गराएको पासलाई बेलिङ्घमले नियन्त्रणमा लिँदै सशक्त प्रहार मार्फत गोलमा परिणत गरे। यस गोलसँगै खेलमा फर्किएको इङ्गल्याण्डले मनोवैज्ञानिक रूपमा राहत महसुस गरेको छ।
१–१ को बराबरीसँगै अब दोस्रो हाफ निकै रोचक हुने अपेक्षा गरिएको छ। यस खेलको विजेताले सेमिफाइनलमा अर्जेन्टिना वा स्विजरल्याण्डको सामना गर्नेछ।