
संगठित रूपमा नक्कली नोट छाप्ने र बजारसम्म पुर्याउने ठूलो गिरोह बुटवलमा सक्रिय रहेको पाइएको छ । नेपाली बजारमा नक्कली नोटको 'बिगबिगी' रहेका बेला बुटवलमा जाली नोट छाप्न 'कारखाना' नै सञ्चालन गरिरहेको गिरोहलाई रूपन्देही प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा नेपाली र भारतीय गरी ६ जना छन् । उनीहरूको समूहले नक्कली पैसा छापेर बजारमा समेत पठाएको पाइएको छ ।
गोप्य सूचनाका आधारमा रूपन्देही प्रहरीको विशेष 'अपरेसन' टोलीले सर्च अभियानबाट नक्कली नोटको धन्दा चलाउने गिरोहलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय, बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) निशान्त श्रीवास्तवले जानकारी दिए ।
डीएसपी श्रीवास्तवका अनुसार उनीहरूले बुटवल उपमहानगरपालिका–६ नेपालगञ्जरोडस्थित एक घरमा विगत लामो समयदेखि पैसा छाप्ने कार्य गरिरहेका थिए ।
पक्राउ पर्नेहरूमा बुटवल उपमहानगरपालिका ११ की ३६ वर्षीया गंगाकुमारी पूर्वछाने, कास्कीको पोखरा महानगरपालिका १ का किरणकृष्ण तिवारी (कृष्ण), कपिलवस्तुको वाणगंगा नगरपालिका १ का सञ्जय थारू, भक्तपुरको चाँगुनारायण नगरपालिका १ का ४१ वर्षीय रामचन्द्र खत्री, दोलखाको शैलुङ गाउँपालिका ४ का ३८ वर्षीय पासाङ तामाङ तथा भारतको पश्चिम बंगाल, सिलिगुडी भक्तिनगर थाना घर भएका ४९ वर्षीय वासुमित्र आनन्द रहेका छन् ।

सूक्ष्म अनुसन्धानबाट उनीहरूले अड्डा जमाएको घर तथा कोठा खानतलासी गरी पक्राउ गर्न सफल भएको डीएसपी श्रीवास्तवले जानकारी दिए ।
उनीहरूको साथबाट एक हजार दरका ६२२ थान नक्कली नेपाली नोट (जम्मा रुपैयाँ ६ लाख २२ हजार बराबर) पनि बरामद गरेको छ ।
बरामद नक्कली नोटमध्ये ४ लाख ४८७ हजार पोखरा र बाँकी नक्कली रुपैयाँ बुटवलबाट प्रहरीले नियन्त्रणमा लिएको हो । 'नक्कली छापेको नोटमध्ये केही बजारमा पठाइसकेको देखिन्छ,' डीएसपी श्रीवास्तवले भने, 'यस्तो गतिविधिमा संलग्नमध्ये दुई जना पहिला पनि यस्तै गतिविधिमा संलग्न रहेका पनि भेटिन्छ । यसको अझै हामीले गम्भीर रूपमा अनुसन्धान गर्दैछौं ।'
यस्ता पैसा सीमावर्ती बजारमा पनि गएको हुनसक्ने प्रहरीको अनुमान छ ।
प्रहरीले फोटोकपी मशिन, डेल कम्पनीको ल्यापटप, प्रिन्टर, नक्कली नोट छाप्न प्रयोग हुने कागजको एक कार्टुन, लेमिनेसन मशिन, विभिन्न केमिकल, प्लास्टिक पेपर, नक्कली नोट काट्ने मशिन तथा ६ थान मोबाइल फोन बरामद गरेको छ ।
पक्राउ परेका सबैमाथि मुद्रणसम्बन्धी कसुरअन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको रूपन्देही प्रहरी प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए ।
नक्कली नोट छाप्ने गिरोह अझै ठूलो हुनसक्ने अनुमान प्रहरीको छ । रूपन्देहीमा केही वर्षअघि पनि नक्कली पैसा छाप्ने गिरोह भेटिएको थियो ।
नक्कली नोट छाप्ने, उत्पादन गर्ने, राख्ने, ओसारपसार गर्ने वा चलाउने कार्य गम्भीर फौजदारी कसुर भएकाले फौजदारी कानूनअनुसार अनुसन्धान भइरहेको डीएसपी चन्दले बताए ।
रूपन्देहीमा विभिन्न आपराधिक गतिविधि बढेपछि प्रहरीले अनुसन्धान र सक्रियता बढाएको छ ।
