
निकै रोमाञ्चक बनेको सेमिफाइनल खेलमा इंग्ल्याण्डलाई २–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना फिफा विश्वकपको फाइनलमा प्रवेश गरेको छ।
एक शून्यले पछि परेको अवस्थालाई खेलको अन्तिम समयमा उल्टाउँदै अर्जेन्टिनाले नाटकीय पुनरागमन गर्दै जित निकालेको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफको ५५ औँ मिनेटमा मोर्गन रोजर्सको पासमा एन्थोनी गोर्डनले गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाएका थिए। गोर्डनको गोलसँगै इंग्ल्याण्ड सन् १९६६ पछि पहिलो पटक विश्वकपको फाइनलमा पुग्ने ऐतिहासिक दिशामा अग्रसर देखिएको थियो।
तर, खेलको अन्तिम १५ मिनेटमा अर्जेन्टिनाले इंग्ल्याण्डको रक्षापंक्तिमाथि भारी दबाब सिर्जना गर्यो। इंग्ल्याण्डका प्रशिक्षक थोमस टुचेलले अग्रता जोगाउन डेक्लान राइस र एन्थोनी गोर्डन जस्ता मुख्य खेलाडीलाई मैदानबाट बाहिर निकाल्दै 'बिग' ड्यान बर्न र एज्री कोन्सालाई भित्र्याएर पाँच डिफेन्डरको रक्षात्मक रणनीति अपनाएका थिए। तर, यो रणनीति इंग्ल्याण्डका लागि प्रत्युत्पादक सावित भयो।
एटलान्टा स्टेडियममा बिहीबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाका लागि कप्तान लियोनल मेस्सी फेरि एकपटक 'गेम चेन्जर' सावित भए।
खेलको ८५ औँ मिनेटमा मेस्सीको छोटो पासमा इन्जो फर्नान्डेजले २० यार्ड टाढाबाट सानदार गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए। अर्जेन्टिनाको आक्रमण यतिमै रोकिएन। इन्जुरी समयको दोस्रो मिनेटमा मेस्सीकै अर्को जादुमयी पासलाई सदुपयोग गर्दै वैकल्पिक खेलाडी लाउटारो मार्टिनेजले गोल गरेपछि एटलान्टा स्टेडियममा रहेका इंग्लिस समर्थकहरू स्तब्ध बने।
यस जितसँगै साविक विजेता अर्जेन्टिनाले अब न्युयोर्कमा हुने फाइनलमा स्पेनको सामना गर्नेछ। इंग्ल्याण्डका लागि भने यो हार निकै पीडादायी बनेको छ । ६० वर्षपछिको फाइनल सपनाको निकै नजिक पुगेर पनि इंग्ल्याण्ड सेमिफाइनलबाटै घर फर्किन बाध्य भएको छ ।