
सरकारले अविरल वर्षा, बाढी र पहिरोजस्ता विपद्जन्य घटनाको जोखिम बढ्दै गएपछि जिल्ला समन्वय अधिकारी र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालयमा अनिवार्य रूपमा उपस्थित रहन निर्देशन दिएको छ।
भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला मन्त्रालयअन्तर्गत स्थानीय तह समन्वय शाखाले सोमबार परिपत्र जारी गर्दै विपद् व्यवस्थापन, उद्धार, राहत, समन्वय तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन यस्तो निर्देशन दिएको हो।
मन्त्रालयले विपद्को संवेदनशील अवधिभर कार्यालय नछाड्न, नियमित रूपमा उपस्थित भई आवश्यक समन्वय, सहजीकरण र निर्णय प्रक्रियामा सक्रिय रहन निर्देशन दिएको छ। बिदामा रहेका कर्मचारीलाई समेत बिदा छोट्याएर यथाशीघ्र कार्यालयमा फर्केर जिम्मेवारी सम्हाल्न भनिएको छ।
यस्तै, विपद्सम्बन्धी सूचना, उद्धार, राहत, क्षतिको विवरण तथा अन्य समन्वयका कार्यमा जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, प्रदेश तथा सङ्घीय निकायसँग निरन्तर सम्पर्क र समन्वय कायम गर्न पनि मन्त्रालयले आग्रह गरेको छ।
विशेष परिस्थितिवश कार्यालय छाड्नुपर्ने अवस्था आएमा सम्बन्धित निकायको पूर्वस्वीकृति लिएर जिम्मेवारीको उचित व्यवस्था गरेपछि मात्रै कार्यालय छाड्न मन्त्रालयले निर्देशन दिएको छ।