
'लोकान्तर राउण्ड अप'मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ-
सामाजिक सुरक्षा कोषमा कूल एक खर्ब १६ अर्ब ७१ करोड ८९ लाख ५० हजार ५२५ रुपैयाँ योगदान रकम जम्मा भएको छ ।
आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म उक्त योगदान रकम जम्मा भएको हो । सूचीकृत रोजगारदाता र सूचीकृत योगदानकर्ताले उक्त रकम जम्मा गरेका हुन् ।
कोषका अनुसार सूचीकृत रोजगारदाताको सङ्ख्या २३ हजार ४९० पुगेको छ भने सूचीकृत योगदानकर्ताको सङ्ख्या ३० लाख ४३ हजार २०० पुगेको छ । कोषले २१ अर्ब २७ करोड एक लाख २० हजार २५२ बराबर दाबी भुक्तानी गरेको छ ।
००००
१३ स्थानीय तहले हालसम्म चालु आर्थिक वर्षको बजेट सार्वजनिक गर्न नसकेको पाइएको छ । कूल ७५३ स्थानीय तहमध्ये ७४० ले बजेट सार्वजनिक गरी कार्यान्वयनको प्रक्रिया शुरू गरिसकेका छन् ।
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पोर्टलमा सम्बन्धित स्थानीय तहले प्रविष्ट गरेको विवरणका आधारमा मधेश प्रदेशका १० स्थानीय तहले हालसम्म बजेट प्रस्तुत गर्न नसकेका हुन् ।
००००
विनियोजित बजेटबाट नयाँ चारपाङ्ग्रे सवारीसाधन खरिद गर्नुपर्ने भएमा अनिवार्य रूपमा अर्थ मन्त्रालयसँग पूर्वसहमति लिनुपर्ने व्यवस्था गरिएको छ ।
अर्थ मन्त्रालयले सोमबार जारी गरेको ‘चालु आवको बजेट कार्यान्वयनसम्बन्धी मार्गदर्शनमा’ पूर्वसहमति नलिइ कुनै पनि सवारीसाधन खरिद गर्न नपाइने उल्लेख छ । वैदेशिक भ्रमणका लागि पनि अनिवार्य रूपमा मन्त्रालयको पूर्वसहमति लिनुपर्नेछ ।
००००
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रालयहरूको संगठन तथा व्यवस्थापन (ओएन्डएम) सर्वेक्षण अन्तिम चरणमा रहेकाले हाल स्थायी पदपूर्तिका लागि लोक सेवा आयोगमा नयाँ माग नपठाउने निर्णय अस्थायी प्रकृतिको भएको स्पष्ट पारेको छ ।
सोमबार प्रेस विज्ञप्ति जारी गर्दै कार्यालयले मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गरिएपछि गाभिएका तथा नवगठित मन्त्रालय र मातहतका निकायको संगठन संरचना तथा कर्मचारी दरबन्दी व्यवस्थापनका लागि ओएन्डएम सर्वेक्षण भइरहेको जनाएको छ।
००००
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्दै पूँजीगत खर्च र राजस्व संकलनको लक्ष्य हासिल गर्न सबै मन्त्रालयका सचिवहरूलाई निर्देशन दिएका छन्।
सोमबार अर्थ मन्त्रालयमा आयोजित बजेट कार्यान्वयन योजनासम्बन्धी बैठकलाई सम्बोधन गर्दै उनले नयाँ बजेट पाँच वर्षे सरकारको आर्थिक मार्गचित्रको पहिलो चरण भएकाले यसको प्रभावकारी कार्यान्वयनमा विशेष ध्यान दिन आग्रह गरे।
००००
सरकारले अविरल वर्षा, बाढी र पहिरोजस्ता विपद्जन्य घटनाको जोखिम बढ्दै गएपछि जिल्ला समन्वय अधिकारी र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालयमा अनिवार्य रूपमा उपस्थित रहन निर्देशन दिएको छ।
भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला मन्त्रालयअन्तर्गत स्थानीय तह समन्वय शाखाले सोमबार परिपत्र जारी गर्दै विपद् व्यवस्थापन, उद्धार, राहत, समन्वय तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन यस्तो निर्देशन दिएको हो।
००००
सरकारले सङ्घीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७३ अन्तर्गतको अनुसूची संशोधन गर्दै सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने बाटो खुलाएको छ।
सोमबार प्रकाशित नेपाल राजपत्रमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले सूचना जारी गर्दै मन्त्रिपरिषद्को निर्णयअनुसार ऐनको अनुसूची–२ मा हेरफेर गरिएको जनाएको हो।
००००
नेपाली कांग्रेसले बीपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा काठमाडौं उपत्यकामा आयोजना गर्ने ‘ग्रीन रन’ कार्यक्रममा सभापति गगन थापा पनि सहभागी हुने भएका छन् ।
सोमबार आयोजित पत्रकार सम्मेलनमा कांग्रेस उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माले ‘ग्रीन रन’ कार्यक्रममा सभापति गगन थापा पनि सहभागी बन्ने जानकारी दिएका हुन् ।
००००
सर्वोच्च अदालतमा आर्थिक वर्ष २०८२/८३ मा मुद्दा तथा निवेदन फर्छ्यौट गर्नेमध्ये न्यायाधीश टेकप्रसाद ढुंगाना पहिलो स्थानमा रहेका छन् । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा भने मुद्दा फर्छ्यौटका आधारमा १५ औं स्थानमा परेका छन् ।
त्यसैगरी, निवर्तमान प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत सूचीको सबैभन्दा अन्तिम अर्थात् बीसौँ स्थानमा रहेका छन् ।
००००
जल तथा मौसम विज्ञान विभागले बुधबारदेखि क्रमशः वर्षा कम हुँदै जाने बताएको छ ।
विभागले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेकाले वर्षा भइरहेको जानकारी दिएको छ ।
००००
नेपाल सरकारका मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा बसेको सचिव बैठकले सरकारी सेवामा कार्यरत कर्मचारीहरूको व्यवस्थापन र प्रशासनिक खर्च नियन्त्रणका लागि महत्त्वपूर्ण निर्णय गरेको छ ।
बैठकले सरकारी कार्यालयमा दरबन्दीभन्दा बढी भएका कर्मचारीलाई आवश्यकता भएका रिक्त ठाउँमा पठाउने र प्रधानमन्त्री कार्यालयको अनुमतिबिना नयाँ स्थायी कर्मचारी भर्ना प्रक्रिया अघि नबढाउने निर्णय गरेको छ ।
००००
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४१.७० अंकले बढेको छ ।
सोमबार नेप्से परिसूचक ४१.७० अंकले बढेर २७१९.२४ विन्दुमा कायम भएको हो ।
यसअघि गत साताको अन्तिम कारोबार दिन शेयर बजार ७९.७४ अंकले बढेर २६७७.५४ को विन्दुमा अडिएको थियो ।
००००
सरकारले सार्वजनिक बिदाको पुनरावलोकन गर्न कार्यदल गठन गर्ने निर्णय गरेको छ।
सिंहदरबारमा मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा सोमबार बसेको सचिव बैठकले उक्त निर्णय गरेको हो ।
गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा गठन हुने कार्यदलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयका प्रतिनिधि सदस्य रहने छन् ।
शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा लागू गरिएपछि साविकमा रहेका अन्य सार्वजनिक बिदाहरूको पुनरावलोकन आवश्यक देखिएको भन्दै उक्त कार्यदल गठन गर्ने निर्णय गरिएको हो।
००००
यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र प्राप्त गर्न स्वास्थ्य जाँचका क्रममा नेपाल मेडिकल काउन्सिलमा दर्ता भई इजाजत प्राप्त गरेका चिकित्सकले प्रदान गरेको स्वास्थ्य परीक्षणसम्बन्धी प्रमाणपत्रलाई मान्यता दिने व्यवस्था मिलाउन सातै प्रदेशका यातायात क्षेत्र हेर्ने मन्त्रालयहरूलाई अनुरोध गरेको छ।
विभागअन्तर्गतको सवारी अनुगमन, मापदण्ड तर्जुमा र सवारी चालक व्यवस्थापन शाखाका निर्देशक गणेशमानसिं राईद्वारा गत असार ३२ गते जारी परिपत्रमा सो अनुरोध गरिएको छ ।
परिपत्रमा भनिएको छ, 'सवारी चालक अनुमतिपत्र लिनका निमित्त स्वास्थ्य जाँच वर्तमान व्यवस्थाले सेवाग्राहीके अनावश्यक भीडभाड, अतिरिक्त आर्थिक भार तथा सीमित समूहको सम्लग्नताबाट सिण्डिकेटजस्ता समस्या सिर्जना भएकाले सेवा प्रवाहलाई थप सरल, पारदर्शी तथा सेवाग्राहीमैत्री बनाउने उद्देश्यले नेपाल मेडिकल काउन्सिलमा दर्ता भई इजाजत प्राप्त गरेका चिकित्सकले प्रदान गरेको स्वास्थ्य परीक्षणसम्बन्धी प्रमाणपत्रलाई मान्यता दिने व्यवस्था गर्दा पारदर्शी एवं एकरुपता कायम गर्न सकिने हुँदा सोहीअनुसार सातै प्रदेशक यातायात क्षेत्र हेर्ने मन्त्रालयहरुलाई अनुरोध गर्ने भनि माननीय मन्त्रिस्तरीय मिति २०८३ /०२ /१३ गते भएको निर्णयानुसार हुन पत्राचार गरिएको व्यहोरा अनुरोध छ ।'
सङ्घीय सरकारको सो परिपत्रबाट चालक अनुमति पत्र प्राप्त गर्नका लागि स्वास्थ्य जाँचलाई थप व्यवस्थित, मर्यादित हुने र सेवाग्राही लाभान्वित हुने अपेक्षा गरिएको छ ।
००००
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले लगानीकर्ताको मनोबल बढाउन आवश्यक कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार पुँजी बजार र धितोपत्र लगानीसँग सम्बन्धित प्रमुख सरोकारवालासँग छलफलमा प्रधानमन्त्री बालेनले लगानीकर्ताको मनोबल बढाउने प्रतिबद्धता जनाएका हुन् ।