
बाढीमा आफ्ना आमाबुबा फसेको खबर पाएपछि एक युवक उनीहरूको उद्धारका लागि ज्यान जोखिममा पारेर निस्किए। करिब तीन घण्टासम्म बाढीको पानीमा पौडिएर उनी आफ्ना आमाबुवाकहाँ पुग्न सफल भए।
यो अनौठो घटना छिमेकी मुलुक चीनको हो। गत जुलाई ६ तारिखका दिन चीनको गुआङ्सी जुआङ स्वायत्त क्षेत्रको किनझोउमा घटेको यो घटनाको विवरण अहिले सार्वजनिक भएको हो ।
सो क्षेत्र भीषण वर्षा र बाँध फुटेका कारण बाढीबाट निकै प्रभावित भएको छ। साउन चाइना मोर्निङ पोस्टको समाचार अनुसार बाढीका कारण हालसम्म ३९ जनाको मृत्यु भइसकेको छ भने करिब ४ लाख मानिसहरू प्रभावित भएका छन्।
रिपोर्ट अनुसार 'जी' थर भएका ३० वर्षीय युवकलाई उनकी आमाको फोन आएको थियो। आमाले आफ्ना ६३ वर्षीय श्रीमान् (जीका बुबा) बाढी प्रभावित घरमै फसेको जानकारी दिएकी थिइन्। घरमा राखिएको चामल बाढीको पानीबाट जोगाउन गएका बुबा फर्किएका थिएनन्।
त्यस क्षेत्रमा पटक-पटक बिजुली काटिनुका साथै बाढीका कारण मोबाइल नेटवर्कले काम गर्न छाडेको थियो, जसले गर्दा जीको आफ्नो बुबासँग सम्पर्क हुन सकिरहेको थिएन ।
जी आफ्ना दुई दाजुभाइ र दिदीबहिनीसँग अर्कै ठाउँमा बस्थे, जुन उनका आमाबुबा बसोबास गर्ने गाउँभन्दा करिब १० किलोमिटर टाढा थियो। बुबा बाढीको तीव्र बहावमा बगे कि भन्ने डर जीलाई लाग्यो।
बुबाको अत्तोपत्तो नभएपछि जीले जुनसुकै हालतमा आमाबुबाकहाँ पुग्ने निर्णय गरे। जी र उनका एक साथीले ट्रकका दुईवटा टायर खरिद गरे र त्यसकै सहारामा करिब तीन घण्टासम्म बाढीको पानीमा पौडिँदै गाउँ पुगे। बाढीको तीव्र बहावका कारण अन्तिम एक किलोमिटरको दूरी पार गर्न मात्रै उनीहरूलाई एक घण्टा लागेको थियो।
जब उनीहरू गाउँ पुगे, उनका बुबा बाढीले डुबेको घरको माथिल्लो तलामा चामल बचाउने प्रयास गरिरहेका थिए।
तर, छोरालाई बाढी पौडिएर आएको देख्नेबित्तिकै बुबा रिसाउँदै कड्किए। उनले 'सामान र सम्पत्ति जोगाउन आफ्नो ज्यानको जोखिम किन लिएको?' भन्दै छोरालाई गाली गरे।
जीले घरको पछाडिपट्टिको साँघुरो बाटो हुँदै बुबालाई अलि अग्लो ठाउँमा रहेको परिवारकै अर्को सुरक्षित घरमा लगे।
उता आमाले पनि छोरालाई देख्नेबित्तिकै रोएर गाली गर्दै बाढीमा ज्यान जोखिममा हालेर आउनु नहुने बताइन्। आफ्ना आमाबुबा पूर्ण रूपमा सुरक्षित रहेको पक्का भएपछि जीले सोही दिन फर्किने निर्णय गरे। उनी पुनः दुई घण्टा बाढीको पानीमा पौडिँदै सहरतर्फ फर्किएका थिए ।