
भारत र स्पेनले आफ्ना डिजिटल भुक्तानी प्रणालीहरू भारतको 'युनिफाइड पेमेन्ट्स इन्टरफेस' र स्पेनको 'बिजुम'बीच अन्तर-सञ्चालनशीलता कायम गर्ने विषयको वार्तालाई तीव्र बनाउन सहमति जनाएका छन् । भारतको वाणिज्य तथा उद्योग मन्त्रालयले यसबारे जानकारी दिएको द टाइम्स अफ इन्डियाले जनाएको छ ।
भारतीय वाणिज्य तथा उद्योग मन्त्री पियुष गोयलको हालै भएको स्पेन भ्रमणका क्रममा दुई देशबिच सो सहमति भएको हो।
भ्रमणका क्रममा लगानी सहजीकरणलाई सुदृढ बनाउने, व्यवसायी तथा जनशक्तिको आवागमनमा सुधार ल्याउने र ल्याटिन अमेरिकामा संयुक्त लगानी प्रवर्द्धन गर्ने विषयमा पनि छलफल भएको थियो। युरोप र ल्याटिन अमेरिकाका लागि स्पेनलाई भारतको रणनीतिक ढोकाका रूपमा प्रयोग गर्दै दुवै देशले साझेदारी बढाउन खोजेका हुन्।
'दुवै पक्ष भारतको UPI र स्पेनको Bizum डिजिटल भुक्तानी प्लेटफर्मबिच प्राविधिक छलफललाई अघि बढाउन सहमत भएका छन्,' मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
यसका साथै दुवै देशले अटोमोबाइल, फर्मास्युटिकल्स (औषधि), रसायन, कपडा (टेक्सटाइल), नवीकरणीय ऊर्जा, पर्यटन र पूर्वाधारका क्षेत्रमा ठुलो अवसर पहिचान गरेका छन्।
आफ्नो भ्रमणका क्रममा मन्त्री गोयलले ब्रसेल्स पुगेर भारतीय जहाज रिसाइक्लिङ यार्डहरूको सूचीकरणको विषय पनि उठाएका थिए।