
नेपाल र गणतन्त्र कोरिया कोरियाबीच कृषि मूल्य शृङ्खला र कानुनी सूचना सेवा सुदृढ गर्ने उद्देश्यले नेपाल र कोरियाबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) मार्फत नेपाल सरकारको अर्थ मन्त्रालयको प्रतिनिधित्वमा कुल ११.८ मिलियन अमेरिकी डलरको दुई समझदारीपत्रमा आज हस्ताक्षर भएको हो ।
कोइका र सम्बन्धित साझेदार संस्थाहरूमार्फत कार्यान्वयन गरिने यी दुई परियोजनाहरूले नेपालमा कृषि मूल्य शृङ्खला विकास र कानूनी जानकारीमा सार्वजनिक पहुँच सुधार गर्न सहयोग पुग्ने बताइएको छ ।
यी समझदारीपत्रहरूमा नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क थेयङ तथा नेपाल सरकार, अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले हस्ताक्षर गरेका छन् ।
कृषि मूल्य श्रृंखला विकास परियोजना ‘नेपालमा फलफूल तथा तरकारीका लागि मूल्य श्रृंखला विकास परियोजना, दोस्रो चरण’ नामक वृहत् पहलले लुम्बिनी प्रदेशका छ जिल्ला बाँके, दाङ, कपिलवस्तु, रूपन्देही, पाल्पा र गुल्मीमा कार्यान्वयन हुने नेपालस्थित कोरिया दूतावासले विज्ञप्तिमार्फत जनाएको छ ।
साना तथा मझौला किसानहरूको आयस्तर दिगो रूपमा बढाउन र कृषि मूल्य श्रृंखला विकासलाई सहयोग गर्न सन् २०२५ देखि २०३१ सम्मका लागि १० मिलियन अमेरिकी डलर अनुदान सहायता प्रदान गर्नेछ ।
कोइकाद्वारा कृषि, वन तथा वातावरण मन्त्रालय, प्रादेशिक मन्त्रालय र कृषि विकास निर्देशनालयसँगको साझेदारीमा कार्यान्वयन हुने यो दोस्रो चरणले सहयोग प्रणाली सुधार गरी, बजारको मागमा आधारित उत्पादन रणनीतिहरू अपनाएर र खेतबारीमा लागू गर्न सकिने बाली–पश्चात प्रविधिहरूमा पहुँच बढाई साना किसानहरूको आम्दानी बढाउने लक्ष्य राखेको छ ।
कोरिया सरकारले नेपालको आर्थिक विकासमा नियमित सहयोग, रोजगारी कार्यक्रम, प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) र प्राविधिक सहयोग लगायत विभिन्न क्षेत्रमार्फत महत्त्वपूर्ण र बहुआयामिक भूमिका खेलिरहेको छ ।
गणतन्त्र कोरिया सरकारले नेपालको सामाजिक आर्थिक विकासलाई निरन्तर प्राथमिकतामा राख्दै आएको छ र पारस्परिक सहयोग, सद्भाव र सांस्कृतिक आत्मीयतामा आधारित बलियो साझेदारीमा परिणत भएको छ ।