
कर्णाली प्रदेशमा प्रमुख प्रतिपक्षी दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसले नयाँ सरकार गठन गर्ने गृहकार्य थालेका छन् ।
मुख्यमन्त्री यामलाल कँडेलको विकल्प खोज्दै कांग्रेस र नेकपाले सहकार्य गर्दै नयाँ सरकार बनाउने तयारी गरेका हुन् ।
गत असार ३१ गते सत्तासाझेदार दल कांग्रेसका चार मन्त्रीहरूले प्रदेश सरकारबाट राजीनामा दिएपछि अल्पमतमा परेका मुख्यमन्त्री कँडेलविरुद्ध असार ३२ गते कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलाई मुख्यमन्त्रीमा अगाडि सार्दै नेकपाका ११ र कांग्रेसका पाँच गरी १६ प्रदेशसभा सदस्यहरूले अविश्वासको प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता गराएका थिए ।
उक्त प्रस्ताव दर्ता गरेको एक हप्तापछि सभामुख नन्दा गुरुङले यही साउन ७ गते बैठक बोलाएकी थिइन् ।
सभामुख गुरुङले बिहीबार बोलाएको बैठक विशेष कारणवश बस्न नसकेको सूचना सार्वजनिक गर्दै यही साउन ९ गते दिउँसो ३ः०० बजे बस्ने तय भएको जानकारी दिइन् ।
कर्णाली प्रदेशसभामा नेकपाका नेता मङ्गलबहादुर शाहीले असार ३२ गते प्रदेशसभा सचिवालयमा पेस गरेका मुख्यमन्त्री कँडेलविरुद्धको अविश्वास प्रस्तावको पक्षमै मतदान गरेर नयाँ सरकार गठन प्रक्रियामा अगाडि बढ्ने बताए ।
'हामी आफ्नो निर्णयका आधारमा अगाडि बढ्छौं,' उनले भने, 'अब कांग्रेसको नेतृत्वमा सरकार गठन हुन्छ । नेकपाले त्योभन्दा अरु फरक कुनै देखेको छैन र सम्भव पनि हुँदैन ।'
कर्णाली प्रदेशसभामा कांग्रेसका प्रमुख सचेतक हिक्मत विष्टले नेकपासँग भएको समझदारीका आधारमा नै कांग्रेस अगाडि बढेको बताए । उनले भने, 'नेकपाकै समर्थनमा हाम्रो दलको नेतालाई सरकारको नेतृत्व गर्ने सहमतिबाट मुख्यमन्त्री प्रस्ताव गरेर अगाडि बढेका हौं । अब छिट्टै कांग्रेस र नेकपाको समीकरणमा नयाँ सरकार गठन हुन्छ ।'
कर्णाली प्रदेशसभामा हाल ४० प्रदेशसभा सदस्य छन् ।
सरकार गठन गर्न २० सदस्य आवश्यक पर्छ । प्रदेशमा कांग्रेसका १५ र नेकपाका १४ प्रदेशसभा सदस्य रहेका छन् ।