
जिल्ला प्रहरी परिसर काठमाडौंले परिसर र मातहत दर्ता भएकामध्ये ६१ प्रतिशत बढी मुद्दाको ‘डिजिटल अभिलेख’ तयार गरेको छ ।
गत असार मसान्तसम्म दर्ता भएका कुल ११ हजार ७८ मध्ये छ हजार ८६१ मुद्दाका फाइल स्क्यान गरिएको परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।
परिसरका दुई हजार ८७, महाराजगञ्ज वृत्तका ३८८, बौद्धका ७१४, गौशालाका ३९०, बानेश्वरका ३६६, कालिमाटीका ५७५, कीर्तिपुरका ९०, थानकोटका ३९७, स्वयम्भूका ४१०, बालाजुका ४५७, लैनचौरका ३३४, दरबारमार्गका १३५, जनसेवाका २४६, सिंहदरबारका १२९ र वृत्त मालिगाउँका १४३ मुद्दा स्क्यान गरिएका छन् ।
परिसरमा आज आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक भट्टराईले तस्करी, लागुऔषध ओसारपसार, ठगी, चोरी, जबरजस्ती करणीलगायत आपराधिक पृष्ठभूमि भएका एक हजार ८७१ जनाको ‘प्रोफाइल’ तयार पारिएको बताए ।
परिसरबाट प्रदान हुँदै आएका सेवालाई प्रविधिमैत्री बनाउँदै लगिएको जानकारी दिँदै उनले पुस महिनादेखि असारसम्म अनलाइनबाट दुई हजार २७६ मुद्दाको म्याद थप गरिएको बताए । गत आवमा ११ हजार ७८ मुद्दा दर्ता भएकामा आठ हजार ५८१ अभियुक्तलाई पक्राउ गरिएको छ ।
आर्थिक वर्ष २०८२/८३ मा घटेका मुख्य अपराधको सङ्ख्या ८५ प्रतिशतभन्दा बढी रहेको छ ।
परिसरका अनुसार सबैभन्दा बढी बैंकिङ कसुरका चार हजार ४७९, अभद्र व्यवहारका एक हजार ७०२, चोरीका एक हजार ८९, लागुऔषधका ६७०, ठगीका ६३८, अपराधिक उपद्रवका १७५, आत्महत्याका ३४९, जबरजस्ती करणीका २६९, ज्यान मार्ने उद्योगका १२२ र सवारी ज्यानका ९९ वटा घटना भएका थिए ।
लागुऔषधसम्बन्धी कसुरमा मुद्दा दर्ता बढ्यो
पछिल्लो तीन वर्षमा लागुऔषध कसुरसम्बन्धी मुद्दा दर्ता गर्ने क्रम बढेको छ । गत आवमा सोसम्बन्धी ६७० मुद्दा दर्ता भएका थिए । आर्थिक वर्ष २०८१/८२ मा ४३१ र आव २०८०/८१ मा ३३३ वटा मुद्दा दर्ता भएका परिसरका प्रवक्ता भट्टराईले जानकारी दिए ।
गत आवमा फैसला कार्यान्वयन गर्ने क्रममा दुई हजार ४०७ जना पक्राउ परेका थिए । सोबापत २२ करोड ६४ लाख ८६ हजार २४० जरिवाना र ५१९ वर्ष आठ महिना नौ दिन कैद असुल भएको छ ।
आर्थिक वर्ष २०८२/८३ मा क्यासिनो ठगी, नक्कली पैसा छपाइ, हुण्डी तथा अभौतिक मुद्रा कारोबारमा संलग्नलाई कारबाही गरिएको परिसरका प्रवक्ता भट्टराईले जानकारी दिए।