
विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै साविक विजेता स्पेन र उपविजेता अर्जेन्टिनालाई कडा टक्कर दिएका केप भर्डेका ४० वर्षीय भेट्रान गोलरक्षक भोजिन्हा अब चिलीको चर्चित क्लब कोलो कोलोबाट खेल्ने भएका छन्।
डेपोर्टेस लिमाचेविरुद्धको लिग खेलअघि आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष आनिबाल मोसाले भोजिन्हालाई अनुबन्ध गरिएको औपचारिक पुष्टि गरेका हुन्।
अध्यक्ष मोसाले सञ्चारकर्मीहरूसँग भने, 'भोजिन्हा अब कोलो कोलोका खेलाडी बनिसकेका छन्। उनी छिट्टै चिली आइपुग्नेछन्, आफ्नो नियमित स्वास्थ्य परीक्षण (मेडिकल) पूरा गर्नेछन् र त्यसपछि हाम्रो घरेलु मैदान एस्टाडियो मोनुमेन्टलमा समर्थकहरूमाझ उनलाई भव्य रूपमा सार्वजनिक गरिनेछ।'
विश्वकप शुरू हुनुअघि मात्रै पोर्चुगलको दोस्रो डिभिजन क्लब चाभेस छाडेका भोजिन्हाका लागि यो विश्वकप करियरकै सबैभन्दा ठुलो 'टर्निङ प्वाइन्ट' सावित भयो। पहिलोपटक विश्वकप खेलिरहेको आफ्नो देश केप भर्डेका लागि उनले जादुमयी प्रदर्शन गरे।
साबिक विजेता स्पेनलाई गोलरहित बराबरीमा रोक्नेदेखि लिएर अन्तिम ३२ को भिडन्तमा शक्तिशाली अर्जेन्टिनालाई अतिरिक्त समयसम्म धकेल्न उनको भूमिका निर्णायक थियो। यही लोभलाग्दो प्रदर्शनले गर्दा उनी फिफाद्वारा छनोट गरिएको समर्थकहरूको 'ड्रिम टिम' मा समेत पर्न सफल भएका थिए। अध्यक्ष मोसाले विश्वकपकै यही उत्कृष्ट प्रदर्शनका कारण उनी यो प्रतिष्ठित क्लबमा आउन पूर्ण रूपमा हकदार भएको बताएका छन्।
क्लबले सम्झौताका केही साना औपचारिक प्रक्रियाहरू पूरा गर्न बाँकी रहे पनि आफ्नो सामाजिक सञ्जालमार्फत भोजिन्हाको आगमनको सङ्केत दिइसकेको छ।