
पूर्वी नेपालको प्रमुख माछा उत्पादन क्षेत्र झापामा बढ्दो उत्पादन लागतका कारण व्यावसायिक माछापालन व्यवसाय संकटमा पर्न थालेको छ । किसानले उत्पादन बढाउनेभन्दा व्यवसाय जोगाउने चिन्ता बढ्दै गएको भन्दै सरकारसँग उत्पादनमैत्री नीति ल्याउन माग गरेका छन् ।
नेपाल मत्स्य विकास सङ्घका केन्द्रीय उपाध्यक्ष लक्ष्मी शिवाकोटीका अनुसार विद्युत् महसुल, माछाको दाना, औषधि र श्रम खर्च बढ्दा माछापालन कृषि व्यवसाय भए पनि उद्योगसरहको लागत व्यहोर्नुपरेको छ । उत्पादनको मूल्य सोही अनुपातमा नबढ्दा किसानको लगानी जोखिममा परेको उनको भनाइ छ ।
सङ्घका अनुसार झापामा वार्षिक करिब एक हजार ५०० टन माछा उत्पादन हुन्छ भने करिब २०० किसान व्यावसायिक माछापालनमा संलग्न छन् । लागत बढेकाले नयाँ लगानीकर्ता आकर्षित हुन नसकेको र केही किसानले व्यवसाय विस्तारको योजना स्थगित गरेका छन् ।
किसानले सस्तो आयातित माछासँगको असमान प्रतिस्पर्धा, बजार व्यवस्थापन, चिस्यान भण्डारण, मूल्य स्थिरीकरण तथा प्राविधिक सहयोगको अभावले पनि व्यवसाय थप प्रभावित भएको बताएका छन् । उनीहरूले स्वदेशी माछा उत्पादन प्रवर्द्धनका लागि उत्पादनमैत्री नीति र प्रभावकारी बजार व्यवस्थापनको माग गरेका छन् ।